घोराही, माघ २६ । वनको गस्तिदेखेपछि घोराहीस्थित एक वन भित्र काठ चिरिरहेका तस्कर भागाभाग गरेका छन् ।
उनीहरु चिर्दै गरेका औजार र लत्ताकपडा समेत छोडेर भागेका छन् ।
घोराही उपमहानगरपालिका १२ स्थित प्रिगाँउ भन्ने स्थानबाट काठ चिरिरहेका मानिस भागेपछि उनीहरुले प्रयोग गरेका औजार, लत्ताकपडा समेत बरामद गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसी जानकारी दिए ।
त्यसक्रममा कटान तथा चिरानमा खटिएका मानिसले लगाएका लत्ता कपडा , काठ चिरानमा प्रयोग गरिएका हाते आरा ३ थान, बन्चरो ३ थान , फलामको खन्ति १ थान १, मार्किङ डोरी कालो रंगको २ थान, कुटो १ थान, गिरान आरा थान १ थान बरामद गरिएको केसीले बताए ।
त्यस्तै सालको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान काठ बरामद भएको तथा त्यो २९–२८ क्यूफिट रहेको सूचना अधिकारी केसीले बताए ।
बरामद सबै सामाग्री आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराहीलाई बुझाएको छ ।
काठ तस्करमा संलग्न मानिसहरुको पहिचान र खोजी भइरहेको जानकारी दिइएको छ ।