तुलसीपुर, माघ २३ । नेपाली काँग्रेसले पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) लाई पुनः आगामी नेतृत्वको लागि उम्मेदवार चयन गरेको छ ।
शुक्रबार काँग्रेसले आफ्नो तर्फबाट संघको नेतृत्वको लागि बस्नेतको नाम टुंगो लगाएको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व गर्न कस्लाई पठाउने भन्ने बारेमा नेपाली काँग्रेसले एक हप्ता अगाडि नेता केशब आचार्यको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।
समितिको सस्दयहरुमा क्षेत्रीय सभापति जगतबहादुर खड्का र जिल्ला सदस्य सुरेन्द्र खड्का सदस्य थिए । उम्मेदवार छनोट समितिका संयोजक केशव आचार्यले अध्यक्षमा हिमाल बस्नेतको नाम टुँगो लगाएको र अन्य पदाधिकारीहरुको नाम टुँगो लगाउन बाँकी रहेको फरककोणलाई बताए ।
‘सकभर आजै बेलुका सम्म र त्यसो नभए भोलिसम्म हामी अन्य पदाधिकारीहरको पनि नाम टुँगो लगाउने छौं,’ संयोजक आचार्यले भने ।यसैबीच उद्योग बाणिज्य संघमा सर्वसहमतिमा नेतृत्व चयनका लागि समेत काँग्रेसले अन्य दलहरुसंग छलफल गरेको उम्मेदवार छनौट समितिका संयोजक आचार्यले बताए ।
‘बिहान मैले फोनमा एक चरण नेकपा दाङका अध्यक्ष टीकाराम खड्काजी संग कुरा गरेको छु,’ काँग्रेस नेता आचार्यले भने ‘ उहाँ र उकाँका प्रतिनिधि तुलसीपुर आउने कुरा छ । म लगाएत साथीहरु प्रतिक्षा गरेर बसेका छौं।’ उनले नेपाली काँग्रेस सकभर सर्बसहमतिको पक्षमा लचक भएर प्रस्तुत हुने जानकारी दिए ।