तुलसीपुर, माघ २० । नेकपा एमाले दाङका पूर्व अध्यक्ष र हाल प्रचण्ड– नेपाल समुहका नेता जोगबहादुर रानाले माघ १९ गते राति आफ्नो सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखे ।
हाल नेकपा प्रदेश कमिटी सदस्य रानाले सोमवार राति ९ बजेर १० मिनेटमा लेखेको स्ट्याटस आफ्नै नेता लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलका बिरुद्धको मात्रै कटाक्ष थिएन, ब्यबस्था माथि नै प्रश्न चिन्ह गरिएको छ ।
मुख्यमन्त्री पोखरेका बहिनी ज्वाँई भूमिसम्बन्धि समस्या समाधान आयोगका दाङ जिल्ला अध्यक्ष बनाइएपछि त्यसको बिरुद्धमा प्रदेश कमिटी सदस्य रानाले सामाजिक सञ्जालमा स्ट्यास लेख्दै आक्रोश पोखेका थिए ।
माघ १५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार मुख्य मन्त्री पोखरेलका बहिनी ज्वाइँ शिवकुमार आचार्य आयोगका दाङ जिल्ला अध्यक्ष बनाइएका थिए ।
जसको बिरोधमा रानाले लेखेका छन्,– ‘देख्यौ त तागत । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाइ उपमहानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष १ गणतन्त्र कस्लाई आएको रहेछ ?’
उनै नेता रानाले सामाजिक सञ्जालमा फेरि अर्कौ स्ट्याटस लेखेर मुख्य मन्त्री शंकर पोखरेलले भुमि तथा सकुम्बासी आयोग दाङको अध्यक्षमा आफ्नै ज्वाँईलाई किन बनाए ? भनेर प्रश्न पनि सोधेका छन् ।
जसमा उनले दर्जन जति नेताहरुको नाम उल्लेख गर्दै उनीहरु भन्दा मुख्यमन्त्रीका बहिनी ज्वाँई शिबकुमारको पार्टीमा योगदान नरहेको जिकिर पनि गरेका छन् ।
‘हामी त पार्टीको नातालाई नै आफ्नै नाता भन्छौ । हाम्रो पार्टी नाता हुँदा हुदै कुनै अबसर पाउनलाई शंकर कै ज्वाँई हुनु पर्ने ? भान्जा हुनु पर्ने, गोत्यार हुनु पर्ने ? समानुपातिकको नाममा शकंरजी को आफ्नै नाताको हुनु पर्ने,’ नेता रानाले लेखेका छन् ‘हो हामी जबसम्म यस्ता जडसुत्रबादी बाट मुक्त हुदैनौं यस्ता जडसुत्रबादीको बिरोध गर्दैनौं नि, हामी नेताको कामदार र खेतला भै रहन्छौं,अस्तु ।’
नेपाल सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भन्दै पछिल्लो समय धमाधम जिल्ला समिति गठन गरेको छ । केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । ज्ञवाली प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् ।
यो भन्दा पहिले मुख्यमन्त्री पोखरेलले आफ्नी बहिनी मेनका पोखरेललाई लुम्बिनी प्रदेशको प्रदेश विकास परिषद आयोगकी सदस्यमा मनोनित गरेका थिए ।
शिवकुमार आचार्यकी श्रीमती मनेका नेकपा ओली समुहको केन्द्रीय सदस्य समेत बनाइएकी छन् ।
त्यस्तै मुख्यमन्त्रीका सहोदर दाजु देवी पोखरेल सत्तारुढ दल नेकपाकाको घोराही उपमहानगरको इन्चार्ज बनाइएका थिए । हाल उनी प्रदेश कमिटी सदस्य छन् ।
मुख्यमन्त्री पोखरेलकी श्रीमती सुजिता शाक्य जनजाति कोटाबाट समानुपातिक सांसद छिन । प्रचण्ड – नेपाल समुहका नेता रानाको स्ट्याटस त्यसैका बिरुद्धमा आएको थियो ।
नाताले हैन योगदानले हो – प्रेस सल्लाहाकार केसी
मुख्य मन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले मुख्यमन्त्री पोखरेलले आफ्नी बहिनी मेनका र ज्वाँई शिवकुमार आचार्यलाई लाभको पद दिएको आरोप लगाउनु गलत बुझाई भएको दाबी गरेका छन् ।
उनले मुख्य मन्त्रीको परिवार नै राजनीतिमा लागेको, धेरै, दुःख, कष्ट झेलेको हुँदा बहिनी मेनका, ज्वाँई शिबकुमार आचार्य र मुख्य मन्त्रीका दाजु देबी पोखरेलले क्षमताको आधारमा जिम्मेवारी पाएको दाबी गरे ।
प्रेस सल्लाहाकार केसीले मुख्य मन्त्री पोखरेल संगको नाता भन्दा ठूलो योगदान पार्टीमा रहेको भन्दै मुख्य मन्त्रीको नातेदार हुँदैमा संधै अन्याय गरिरहन नमिल्ने तर्क गरे ।
मुख्य मन्त्रीका आफन्त तथा परिवारका सदस्य अरु मानिसहरु जस्तै आफ्नै क्षमता र योगदानले गर्दा बिभिन्न ठाउँमा पुगेको हुँदा त्यसमा मुख्य मन्त्रीलाई दोषी देख्नेहरु गलत भएको उनले बताए ।