२०८२ असार ३० गते मङ्गलवार

दाङमा पहिलो पटक ‘बायोफ्लक’ बिधिबाट माछा पालन

घोराही,माघ २० । दाङमा पहिलो पटक बायोफ्लक प्रबिधिबाट माछा पालन गरिएको छ । जमिन नबिगारी गरिने माछा पालनलाई बायोफ्लक भन्ने गरिन्छ । यसरी माछा पाल्दा जमिन मुनि हैन बरु जमिन माथि पोखरी बनाएर पाल्ने गरिन्छ ।

यस्तो नयाँ प्रबिधिको माछा पालन घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँमा गरिएको छ । प्यूठानबाट दाङमा बसाई सरी आएका ३० जना मिलेर यस्तो नयाँ प्रबिधिबाट माछा पालन सुरु गरेका छन् ।

माछा पाल्न जमिन माथि सिमेन्टको पोखरी निर्माण गरिएको छ ।

१४ घनमिटरका चारवटा र ७ घन मिटर दूईवटा पोखरीमा माछा पालन गरिएको छ ।

यसरी माछा पाल्ने प्रबिधि इण्डोनोसियाको हो । तर पछिल्लो समय छिमेकी देश भारतमा पनि यो प्रबिधिबाट व्यापक रुपमा माछा पालन भइरहेको छ ।

पछिल्लो समय नेपालको चितवनमा पनि एक जनाले यस्तै नयाँ प्रबिधिबाट माछा पालन सुरु भने गरेका छन् ।

चितवनमा तारपोलिन ट्याङ्कीमा माछा पालन गरिएको छ । त्यो भनेको जमिन माथि प्लाष्टिकको ट्याङ्कीमा माछा पाल्ने प्रबृधि हो ।

जमिनमाथि सिमेन्टको ट्याङ्की निर्माण गरि माछा पालन गरिएको भने यो नै नेपालमा पहिलो पटक भएको डाइनामिक मल्टि बिजिनेस दाङ प्रालिका अध्यक्ष मोहन केसीले जानकारी दिए ।

सिमेन्ट पोखरीमा सबै जातको माछाहरु पाल्न सकिने भएपनि कालो जातको पंगास माछाहरु पाल्न झनै राम्रो मानिने अध्यक्ष केसीले दाबी गरे । ती कालो जातका माछाहरुले पानी भन्दा बाहिरबाट पनि अक्सिजन लिने हुँदा त्यो बढी सफल हुने बिश्वास गरिन्छ ।

यो बिधिबाट माछा पाल्दा पोखरीको तापक्रमपनि मिलाउन सक्नु पर्छ । त्यसको लागि उनीहरुले पटक÷ पटक पानीको तापक्रम पनि मापन गर्ने गरेको बताए ।

माघको जाडोमा बाहिरको तापक्रम ५ डिग्री सेलसियस मात्रै हुँदाखेरी पनि पोखरी भित्रको पानीको तापक्रम १४ डिग्री नघटेको हुँदा आफुले सुरुवात गरेको प्रबिधि सफल भएको केसीले दाबी गरे ।

पालेको माछा चैतको अन्तिम वा बैशाख सम्म बिक्रिका लागि तयार हुने उनले बिश्वास व्यक्त गरे ।
यही पोखरीबाट बार्षिक ६ लाखसम्म फाइदा लिने आशा उनले व्यक्त गरे ।

प्रालिका अध्यक्ष मोहन केसीका अनुसार प्रालिमा हाल ३० जना शेर सदस्य छन् । उनीहरु बिभिन्न पेशा व्यवसायमा संलग्न छन् । उनीहरु सबै प्यूठानबाट दाङमा बसाई सराई गरेर आएकाहरु हुन ।
उनीहरुले जग्गा भाडामा लिएर झन्डै तीन बिगाहा जति जग्गा मध्य केही भागमा सुन कागती रोपेका छन् ।

कागतीको नर्सरीपनि तयार पारिएको छ ।  दूई सय बोट भन्दा बढी झापाली मालभोग केरा रोपेका छन् । हाल दशवटा राँगा छन् । अरु राँगापनि थप्दै छन् ।  घाँसपनि रोपेका छन् । यसअघि उनीहरुले त्यो जग्गामा मकै फलाएर बिक्रि गरिसकेका छन् ।

उनीहरुले त्यहाँ बट्टाई पनि पालेका छन् । हाँसहरु पालेका छन् । कुखुरा पाल्ने तयारी स्वरुप पूर्वाधार निर्माणको काम गरिरहेका छन् । कड्कनाथ कुखुरा पाल्ने योजना रहेको अध्यक्ष केसीले जानकारी दिए ।  यो सबै काम उनीहरुले जग्गा लिजमा लिएर गरिरहेका छन् ।

झन्डै ३ बिगाहा क्षेत्रफल दश बर्षका बार्षिक प्रति कठ्ठा ३ हजार ५ सयका दरले जग्गा भाडामा लिएको अध्यक्ष केसीले बताए । ३० जना मिलेर एक करोड लागतमा प्रालि सञ्चालनमा आएको अध्यक्ष केसीले जानकारी दिए ।

 

सबै तस्विर : राजेश खत्री ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *