काठमाडौं,माघ १५ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो ।
शर्माको इजलासमा अवहेलनासम्बन्धी अन्य दुई मुद्दा पनि परेका छन् । चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिले न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै दायर रिट पनि शर्माकै इजलासमा परेको छ ।
यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले दिएको अभिव्यक्तिबाट न्यायालयको अवहेलना भएको भन्दै दायर रिट पनि उनकै इजलासमा एक साथ सुनुवाइ हुने भएको हो ।
प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्यले माघ ११ मा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट लिएर गएका थिए ।
सो रिटको काउन्टरमा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट दायर भएका छन् ।
कुमार शर्माको रिट दर्ता गर्न आनाकानी गर्दै सर्वोच्च प्रशासनले दुई दिन होल्ड गरेको थियो । तर, पूर्व प्रधानन्यायाधीशहरु र दमननाथविरुद्ध पनि रिट गएपछि मात्र बल्ल सर्वोच्चले सबै रिट दर्ता गरेर पेशीमा चढाउने सूचना निवेदकलाई दिएको हो ।
अधिवक्ता धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीबिरुद्ध रिट दर्ता गराएका छन् । पूर्व प्रधानन्यायाधीशबिरुद्ध लोचन भट्टराईले पनि रिट हालेका छन् । अ
धिवक्ता राजाराम घिमिरेले पूर्व प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट हालेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीबिरुद्ध रिट हालेका छन् ।
पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख ढुङ्गानाबिरुद्ध बालुवाटरकै निर्देशमा रिट दायर गरिएको जानकारहरु बताउँछन् । उनीहरुबिरुद्ध रिट हाल्ने राजाराम घिमिरे र लोचन भट्टराई यसअघि अधिवक्ता रमेश बडालको ल फर्ममा अभ्यास गर्थे । बडाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
आफ्नो बिरुद्ध अवहेलना मुद्दा अदालतमा पुगेपछि बडालसँगै सल्लाह गरेर बालुवाटरले काउन्टर मुद्दा दायर गर्न दिर्नेशन दिएको कानुन व्यवसायीहरुको भनाइ छ ।
बडाल ट्रेड युनियन महासंघ जिफन्टको उपाध्यक्ष पनि हुन् । सो रिट उनले ड्राफ्ट गरेर लोचन र राजाराममार्फत् दर्ता गराएको एक कानुन व्यवसायीले बताए ।
अधिवक्ता लोचन भट्टराई र राजाराम श्रीमर ल फर्ममा अभ्यास गर्थे । सो ल फर्म अधिवक्ता बडाल, श्रीकान्त बराल र मनोज शर्माले स्थापना गरेका हुन् । मनोज शर्मा अहिले सर्वोच्च अदालतमा न्यायाधीश छन् ।
दमननाथ ढुंगानाले एक अन्तरक्रिया कार्यक्रममा ‘सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ’ भनेर बोलेका थिए । चार पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको प्रेश विज्ञप्ती प्रकाशन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चाहिँ विघटन मुद्दामा अदालतमा वकिलहरुले गफ फिटेको र अदालतमा बाजे वकिल लगेर ‘तमासा देखाएको’ भन्दै भाषण गरेका थिए ।