२०७७ फाल्गुन १८ गते मङ्गलवार

जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

जुम्ला,माघ १४ । जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।

जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार बेलुका आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।

त्यत्तिकै संख्यामा चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो ।

सहायक प्रजिअ चौलागाइका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

‘हामीलाई अहिलेसम्म ३० घर जलेको खबर आएको छ,’ सहायक प्रजिअ चौलागाइले भने, ‘आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।’

उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ । मानवीय क्षति भए/नभएको एकीन छैन ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *