२०८१ माघ १३ गते आइतवार

मदरसाका विद्यार्थीलाई न्यानो कपडा


तुलसीपुर, २५ मंसिर ।
तिहारमा भैलो खेलेर संकलन भएको रकमबाट मदरसाका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ । क्रियाशील पत्रकार संघ दाङले तिहारमा भैलो खेलेर संकलन गरेको रकमले मुस्लिम समुदायले दाङको दुर्गम क्षेत्र शान्तिनगरको अमुवामा सञ्चालन गरेको मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शान्तिनगर गाउँपालिका–२ अमुवामा रहेको मदरसामा अध्ययनरत विपन्न र गरीब बालबालिकाहरुलाई सहयोग गरिएको हो । मदरसामा अध्ययन गरिरहेको र जाडो मौसममा न्यानो कपडासमेत किन्न नसक्ने अभिभावकहरु भएका ४४ मदरसाका विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट र टिसर्ट) प्रदान गरेको हो । ४० हजार रुपैयाँको लगानीमा ४४ सेट न्यानो कपडा मदरसाका विद्यार्थीहरुलाई प्रदान गरिएको संघले जनाएको छ ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतको सहभागितामा भएको कार्यक्रममा बस्नेतले क्रियाशील पत्रकारले महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए । उनले भैलौ खेलेर संकलन भएको रकम सामाजिक क्षेत्रमा लगाउनु उदाहरणीय काम भएको उल्लेख गरे । महासचिव बस्नेतले हिन्दू र मुस्लिम फरक–फरक धर्म, संस्कृतिमा रहने भए पनि यो कार्यले एकता र सद्भाव कायम गरेको बताए । मदरसाको शिक्षामा भएको सहयोग महत्वपूर्ण रहेको भनाई बस्नेतको थियो ।

एकले अर्काे धर्मलाई स्वीकार नगरिरहेको अवस्थामा धार्मिक सहिष्णुता बढाउन र धार्मिक सद्भाव कायम भएको सन्देश दिन हिन्दूहरुको महानपर्व तिहारमा भैलो खेलेर संकलन भएको रकम मुस्लिम समुदायका बालबालिकाहरुलाई सहयोग गरेको संघका अध्यक्ष गोपाल शर्मा भट्टराईले बताए । उनले सबैको धर्म, संस्कृतिको सबैले संरक्षण गर्नसके भाइचाराको सम्बन्ध कायम हुने भन्दै संघको यो सहयोगले भाइचाराको सम्बन्धमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

मदरसाका प्रधानाध्यापक अब्दुल सतारले मदरसामा पहिलो सहयोग आएको भन्दै विभिन्न बालबालिकालाई राहत पुगेको बताए । उनले विद्यालयमा ९७ जना बालबालिका अध्ययनरत भएको र केही हिन्दूका बालबालिकाहरु पनि मदरसामा पढिरहेको बताए । उनले भैलोको रकमले विद्यालयका बालबालिकालाई सहयोग गरेको प्रति आभारसमेत ब्यक्त गरे ।

क्रियाशील पत्रकारले यस वर्षको भैलोबाट संकलित रकमबाट मदरसाका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग र तुलसीपुरमा रहेको किरियापुत्री भवनमा ढुङ्गेधारा निर्माणमा खर्च गरेको छ । विगतका वर्षमा नेपाल पत्रकार महासंघमा पत्रकार राहत कोषलाई, अपाङ्ग बालबालिकाको शैक्षिक सहयोग र धर्मशालामा बेड सहयोग गरेको थियो ।

कार्यक्रम संघका अध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा तथा मानवअधिकार शान्ति समाजका महासचिव तथा संघका संस्थापक प्रमुख सल्लाहकार सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव गणेश आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *