तुलसीपुर, पुस २० । विघठित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले दूईचार जना यता उता जाँदैमा पार्टीलाई कुनै फरक नपर्ने बताएका छन् ।
सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ बसपार्कको गुम्बामा आयोजिक वडा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कुनैदिन तुलसीपुरमा संघ संगठनहरुमा प्रतिनिधि पठाउने मानिसहरु समेत नपाउने अवस्था रहेको उल्लेख गर्दै अहिले बिशाल पार्टी भइसकेको समयमा बिचलित नहुन आग्रह गरेका हुन ।
‘ एमाले र माले फूटेको समयमा संघ संगठनमा पठाउने मान्छे सिला खोजे झैं खोज्नु पर्दथ्यो,’ उनले भने ‘ त्यस्तो अवस्थामा तुलसीपुरमा हामीले नै संगठन निर्माण गरेका हौं, अहिले त हजारौं साथीहरु हुनुहुन्छ ।’ त्यही भएर उत्पन्न पछिल्लो अवस्थामा कत्तिपनि बिचलित नभएर संगठन निर्माणमा लाग्न उनले आग्रह गरे ।
‘संवैधानिक कू भएको छ र गणतन्त्र नै मास्ने षडेन्त्र भएको छ,’ केसीले भने ‘यसका विरुद्ध सडकबाट डटेर प्रतिरोध गर्न जरुरी छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको हुँदा त्यो कदम करेक्सन नहुँदासम्म एक ढिक्का भएर संघर्षमा उत्रन उनले आग्रह गरे ।
उनले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा नै बैधानिक भएको हुँदा बिचलित नभएर गाउँ–गाउँमा गएर त्यो कुरा बुझाउनका लागि कार्यकर्तालाई अपिल गरे ।