२०८२ असार ३० गते मङ्गलवार

प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ,पुस १२ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड(नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।

राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड(नेपाल पक्षीय एक नेताले जानकारी दिए।

प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन्। तीमध्ये नेकपाका ६७ सांसद थिए ।

पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्। केही सदस्यहरु यता उता गरिरहेका छन्।

यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन्।

यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले बताए।

शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा उनले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए।

केन्द्रमा नेकपामा विवाद देखिएपछि प्रदेशहरूमा पनि मतभेद देखिएको छ।

बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाका प्रचण्ड(माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *