२०८१ असोज ३ गते बिहिवार

तुलसीपुर मेट्रो कलेजमा यही बर्षदेखि स्नातकमा कानुन पढाई सुरु हुने

बुटवल, पुस ८ । विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयका बीच बुधवार नयाँ सहमति भएको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेज र विश्वविद्यालयसंग सम्झौता भएपछि कलेजमा यो बर्षदेखि कानुन विषयमा स्नातक तहको कक्षा सञ्चालन हुने भएको छ ।

विश्वविद्यालयका उपकुलपति डां हृदयरत्न वज्राचार्य र नगरप्रमुख घनश्याम पाण्डेका बीचमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा पहिलो चरणमा कानुन विषयको अध्यापन सुरुवात हुने र अर्को वर्षबाट इन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन हुने नगरप्रमुख पाण्डेले बताए ।

त्यस्तै समझदारी पत्रमा बुद्ध दर्शन, शिक्षा, कला, संस्कृति, पुरातत्व, इतिहास,इन्जिनियरिङ्ग आदी बिषयमा अध्ययन, अनुसन्धान, एवम् प्रबद्र्धनका लागि एकले अर्कासंग सहकार्र्य गर्ने समेत उल्लेख छ ।

यसका साथै उपमहानगरपालिकाले विश्वविद्यालयले सञ्चालन गरेको सबै कार्यक्रमहरु तुलसीपुर मेट्रो कलेज मार्फत सञ्चालन गर्न पाउने भएको छ । तर, ती सबै कार्यक्रमका लागि उपमहानगरपालिका आफैले नै आर्थिक व्यवस्थापन गर्नुपर्ने छ ।

नगरप्रमुख पाण्डेले सामान्य जनताका सन्तानहरुले आफ्नै घर आँगनमा रोजाईको विषय पढ्न पाउन भनेर कलेजको सञ्चालन गरिएको वताए । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा समेत विकास गरिने दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति वज्राचार्यले स्थानीय तहसँग पहिलो पटक सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै खुसी व्यक्त गरे ।

हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगी, वडाध्यक्ष कुमार लामिछाने, कलेज प्रमुख वसन्त आचार्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *