शंकर के.सी.
सल्यान, मंसिर २४ ।
संसारको श्रृष्टी थेग्ने नारीहरु अझै पनि हिंसाको सिकार बन्नु विडम्बना भएको सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव जीवनको विकासमा महत्वपूर्ण भूमिका राख्ने महिलामाथि हुने कुनै पनि हिंसाका विरुद्ध सबैजना डटेर लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका हुन् ।
लैंगीक हिंसाविरुद्ध आयोजित १६ दिने अभियानको सोमबार जिल्लाको कपुरकोटमा आयोजित समापन कार्यक्रममा जनप्रतिनिधि, आमा समूह, बजार व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मीलगायतका सरोकारवालाहरु सडकमा उत्रिएर महिलामाथि हुने हिंसा र दुब्र्यवहारको विरोधसँगै महिलाको आर्थिक सशक्तिकरणमा समेत जोड दिए ।
सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश, विभिन्न विद्यालयहरु र आमा समूहहरुको सहकार्यमा कपुरकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले महिला आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सक्षम भए भने हिंसामा पर्ने सम्भावना कम हुने बताए । आफ्नो गाउँपालिकामा महिलामाथि हिंसा गर्ने कसैलाई पनि छुट नदिइने बताउँदै सेनले हिंसाबाट मुक्तिका लागि ग्रामीण भेगका महिला र पहुँचबाट टाढा रहेका महिलालाई सशक्त बनाउने कार्य आफूहरुले गरिरहेको बताए ।
यस्तै कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले महासंघले महिला सशक्तीकरण तथा नेतृत्व विकासमा काम गरिरहेको बताए । उनले जल, जमिन, जंगललगायत प्राकृतिक स्रोतमा महिलाको अधिकार स्थापित भएमा महिला हिंसा न्यूनीकरण गर्न सहज हुने धारणा राखे । शिक्षासँगसँगै यस्ता स्रोतमाथि महिलाको प्रत्यक्ष अधिकार सुनिश्चित भएको अवस्थामा महिला आफैं स्वावलम्बी र शक्तिशाली हुने शर्माले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा न्यूनीकरण गर्नका लागि सरोकारवालाले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । महिला तथा बालबालिका विकास शाखा कपुरकोटका प्रमुख सावित्रा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज केसीले गरेका थिए । गाउँ कार्यपालिकाको कार्यालयबाट निस्किएको ¥यालीले कपुरकोट बजार परिक्रमा गरी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।