काठमाडौँ,पुस ३ । कैलालीको टीकापुर घटनामा मुछिएका सांसद रेशमलाल चौधरीसहित आठ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत कैलालीको यसअघिको फैसलालाई सदर गर्दै हिजो न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला गरेको हो।
जन्मकैदको सजाय हुनेमा लक्ष्मण चौधरी, रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।
यसअघि लक्ष्मणलाई पाँच वर्ष मात्रै कैद हुने जिल्लाले फैसला गरेकोमा उच्चले उनलाई पनि जन्मकैदको फैसला सुनाएको अदालतकी रजिस्ट्रार सीता रेग्मीले बताइन्।
जिल्लाले जन्मकैदको फैसला सुनाएको सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको कैद सजाय घटाएर पाँच वर्षमा झारेको छ।
उच्चले टीकापुर घटनामा संलग्न ठहर गर्दै संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई समान १० वर्ष कैद सजायको फैसला गरेको छ। यसअघि जिल्लाले उनीहरूलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो।
रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ।
यस्तै, घटनामा संलग्न भएको भन्दै दोषी ठहरिएकामध्येका चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियालाई उच्चले जिल्ला अदालतले गरेको यसअघिको तीन वर्ष कैद सजायको फैसलालाई सदर गरेको छ।
तहावीर अली र रामनरेश चौधरीलाई भने उच्चले सफाइ दिएको छ। नाबालक करण चौधरीलाई भने ६ महिना कैद सजायको फैसला उच्च अदालतले गरेको छ।
२०७२ भदौ ७ गते थारुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको धारिलो हतियार प्रहार गरी भएको हत्या घटनामा उनीहरूलाई अदालतले दोषी ठहर्याएको हो।
जिल्लाको फैसलाविरुद्ध रेशमसहितका प्रतिवादीहरू मुद्दाको पुनरावदेन गर्न उच्च अदालत दिपायल पुगेका थिए। तर, जिल्लाले गरेको फैसला धेरैको हकमा उच्चले सदर गरिदिएको हो।
मुद्दामा वादी (घटनाको चाहिँ प्रतिवादी) रेशमको तर्फबाट अधिवक्ता शान्ता भण्डारी र सरोज बुढाथोकीले बहस गरेका थिए। मुद्दाको प्रतिवादी (घटनाको वादी) सरकारी वकील कार्यालयका निमित्त प्रमुख सहन्यायाधिवक्ता टेकबहादुर थापा, सहन्यायाधिवक्ता तिलकराम लम्साल र वकील प्रयागदत्त जोशीले बहस गरेको थिए।