२०८१ भाद्र २३ गते आइतवार

अपहरण गरी बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी,पुस २ । अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १९ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६ सय ४६ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष आठ महिना कैद र ६६ हजार ६ सय ६६ जरिवाना तोकेको अदालतले जनाएको छ ।

आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ ।
आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

आरोपितले ०७५ मंसिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुष ३ गते उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुष ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुष २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *