सल्यान, मंसिर २८ ।सल्यान कपुरकोटको एक सामुदायीक विद्यालयका प्रधानाध्यापकसहित ८ शिक्षकलाई कोरोना संक्रमन पुष्टि भएको छ । शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि बिद्यालय पुस १० गतेसम्म बन्द गरिएको छ ।
कपुरकोट गाउँपालिका वडा नं. ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमन पुष्टि भएपछि कपुरकोट गाउँपालिकासंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
संक्रमित ८ शिक्षक मध्ये एक जना कोरोना मुक्त भइसकेका छन् । थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनैपनि लक्षण देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोधपनि गरेको छ ।
मंसिर ७ गतेदेखि सञ्चालन भएको मावि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो ।
आठ शिक्षकलाई कोरोना संक्रमन पुष्टि भइसकेको हुँदा आइतबारदेखि पुस १० गतेसम्म पठन पाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिए ।