तुलसीपुर, मंसिर २४ । संगै सुतेकी पत्निले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीस्थित घरमा मंगलवार विहान ३० बर्षीया सुनिता बिसी चौधरी घर भित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
त्यसपछि भैरहवामा कार्यरत उनका पति प्रहरी जवान जितबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
इप्रका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जितबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताए ।
‘एउटै कोठामा संगै सुतेका श्रीमान–श्रीमती मध्य श्रीमती विहान झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि उनका पति जितबहादुर चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ,’ शर्माले भने ।
पोष्ट मार्टम भइ नसकेको र रिपोर्ट पछि तथ्य के हो ? भन्न मिल्ने प्रहरीले बताएको छ ।
यसैबीच माईती पक्षले भने आफ्नी छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएका छन् । सुनिताको माईती बाँके हो ।
प्रहरी जवान जितबहादुर हाल भैरहवामा कार्यरत छन् । उनी घर बिदामा केही दिन पहिले मात्रै आएका थिए ।