तुलसीपुर, मंसिर २४ । मापदण्ड विपरित सञ्चालित दाङका दशवटा क्रसर उद्योगहरु स्थानीय प्रशासनले बन्द गरेको छ । देउखुरी क्षेत्रका लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द भएका हुन ।
दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार तुलसीपुर क्षेत्रमा सञ्चालन हुँदै आएका के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्राली, गणेश बालुवा वासिङ उद्योग, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योगपनि बन्द भएका छन् । ती उद्योगले बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएको हुँदा बन्द गर्नु परेको प्रजिअ आचार्यले बताए ।
अबदेखि उल्लेखित उद्योगले अनुमति लिए अनुसार बालुवा वासिङको काम मात्रै गर्न पाउने छन् ।
त, उनीहरुले क्रसिङको काम भने गर्न नपाउने प्रअिज आचार्यले जानकारी दिए ।
स्थानीय प्रशासनले मापदण्ड विपरित सञ्चालित उद्योगहरु बन्द गर्न दिएको समय सीमा भित्रै उद्योग सञ्चालकहरुले आँफै क्रसिङका मेसनरी सामानहरु व्यवस्थापन गरी क्रसिङको काम बन्द गरेको प्रजिअ आचार्यले जानकारी दिए । जिल्लामा सञ्चालित त्यस्ता २६ वटा उद्योगहरु मध्य १० वटा मापदण्ड विपरित सञ्चालित रहेको प्रजिअ अचार्यले बताए ।
त्यसमध्य १२ वटा क्रसर उद्योग भने दर्ता छन् । त्यसमध्य २ वटा बन्द अवस्थामा रहेको र १० वटा मात्रै सञ्चालनमा रहेको स्थानीय प्रशासनले जनाएको छ । हाल दाङमा कुल ३२ वटा बालुवा प्रशोधन उद्योगहरु दर्ता रहेपनि त्यसमध्य ६ वटा भने बन्द रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । गृह मन्त्रालयले कार्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रसोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।
सोही अनुरुप दाङमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो हप्तासम्म जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । त्यसपछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योगहरु बन्द गर्न १५ दिनको समय सीमा तोकेको थियो ।