काठमाडौं, मंसिर २३ । मोरङमा घाँटी रटेको अवस्थामा शिक्षकको शव फेला परेको छ ।
मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द (विप्लवु) समूहका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई घरवाटै अपहरण गरेर लगेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।
श्रेष्ठको शव घरदेखि एक किलोमिटर टाढा बर्खे सरकारी वनमा हात बाँधेर घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि प्रहरीले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको जानकारी दिएको थियो । तर, दिउँसो अवेर मात्रै घटनास्थल पुगेको प्रहरीले उनको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको जानकारी दिएको छ ।
प्रअ श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको हुने सक्ने प्रारम्भिक अनुमान भइरहेको एक प्रहरी अधिकारीले बताए ।