दाङ, मंसिर २३ । बाँके प्रहरीको मेहनतले दाङका एक व्यक्तिले हराएको साढे ७ लाख नगद प्राप्त गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका ५४ बर्षीय दत्तबहादुर नाथले बाँकेमा सोमवार ७ लाख ४० हजार नगद हराएका थिए ।
नाथ भारतवाट मजदुरी गरि घर फर्किने क्रममा सोमबार विहान साढे १० बजेतिर नेपालगञ्ज आएर पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्म अटो रिक्सा चढेका थिए ।
नाथले रकमसहितको झोला अटो रिक्सामा भुलेका थिए ।
त्यो कुरा नाथले जिल्ला प्रहरी कार्यालय बाँकेको पैंशा नलाग्ने १०० नम्वरमा डायल गरि अवगत गराए पछि जिल्ला प्रहरी कार्यालय बाँकेवाट प्रहरी निरिक्षक इश्वरदेव गिरीको कमाण्डमा प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो ।
गिरी सहितको प्रहरी टोलीले सिसी टिभीको फूटेज निकालेर अनुसन्धान गरेपछि भे १ ह ५०१९ नम्वरको अटो रिक्सामा नाथ चढेको खुलेको थियो ।
त्यो अटो रिक्सा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का देवराज बर्माको भएको पत्ता लगाएपछि प्रहरीले उनको घरमै गएर ७ लाख ४० हजार रकमसहितको झोला ल्याएर नाथलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
हराएको रकमसहतिको झोला जस्ताको त्यस्तै पाउँदा नाथ खुसी भएको एसपी रानाले बताए ।
त्यस्तै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर १० गते झोलासहित हराएको नगद ४ लाख रकमपनि फेला पारेर दिएको छ ।
बेलुका साढे चार बजे दमरा भन्ने ठाउँवाट बानियाभारसम्म जानका लागि बस चढेकी बिधले ओर्लिदा आफ्नो झोला लिन भुलेकी थिइन ।
राधिकालाई आफु चढेको बसको नम्वर थाहाँ थिएन । उनले टिकट पनि लिएकी थिइनन् ।
पैंशा हराएकै दिन उनले पनि १०० मा फोन गरी बसमा आफ्नो ४ लाख हराएको जानकारी दिएकी थिइन । उनले वडा प्रहरी कार्यालय नेपालगञ्जमा गएर निवेदनपनि दिएकी थिइन ।
घटना अनुसन्धान गर्न वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोली खटाइयो । त्यो टोलीले सिसी टिभीका फूटेजहरु अनुसन्धान गरेपछि बस पहिचान गर्न प्रहरी सफल भएको थियो ।
त्यसपछि झन्डै ३ दिनको मेहनत पछि बस र पैंशा पत्ता लागेको एसपी रानाले बताए ।
१० गते ४ लाख नगद हराएकी राधिकालाई प्रहरीले मंसिर १५ गते उक्त रकम हस्तान्तरण गरेको एसपी रानाले जानकारी दिए ।