तस्विर ः फरककोण
तुलसीपुर, मंसिर १९ । घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रशाद पन्थी पक्राउ परेका छन् ।
मदिरा सेवन गरि घोराहीस्थित एक पसलमा ढुंगा हानेपछि नगर प्रहरी प्रमुख सइ पन्थी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पन्थीले अत्यधिक मदिरा सेवन गरेपछि बिहीवार राति १० बजेतिर घोराही शहिद गेट नजिकै रहेको शर्मा मोवाईल पसलमा ढुँगा हानेको जानकारी दिए ।
पन्थीको ढुँगा प्रहारवाट मोवाईल सञ्चालकको टाउकोमा चोट लागेको छ ।
मदिराले मातेका पन्थी मोवाईल पसलमा चुरोट माग्न गएको र पसलेले मोवाई पसलमा चुरोट पाइदैन भन्ने कुरा गरेपछि आवेगमा आएर सडकको ढुँगाले पसलमा आक्रमण गरेको प्रहरी अधिकारीले बताएका छन् ।
पन्थीले आफु नगर प्रहरी प्रमुख भएको तथा आफ्नो चिनजान र पहुँच माथिसम्म रहेको भन्दै पसलेलाई डर धम्कि दिदै आक्रमण गरेको पसल सञ्चालकले आरोप लगाएका छन् ।
नगर प्रहरी प्रमुखले मापसे गरि रातिमा होहल्ला गरिरहेको र पसलमा ढुँगा समेत हानेको भन्ने गुनासो पछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
यसैबीच पन्थीको ढुंगा आक्रमणवाट घाइते भएका पसल सञ्चालक ३७ बर्षीय श्यामसुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराही पुगेर शुक्रवार पन्थी विरुद्ध लिखित जाहेरी दिएका छन् ।
उनको निवेदनमा पन्थीले आफुलाई सार्वजनिक स्थलमा गालीगलौज तथा कुटपिट गरेको भन्दै जाहेरी दिएको एक प्रहरी अधिकारीले बताए । प्रहरीले पन्थी विरुद्ध अभ्रद व्यबहार शिर्षकमा मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले पन्थीमाथि कसुर अनुसार कानुनी कारवाही हुने जानकारी दिए ।
पक्राउ परेका नगर प्रहरी प्रमुख पन्थीलाई गएराति साढे १० बजेतिर वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा लगेर राखिएको वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले जानकारी दिएका छन् ।