घोराही, कात्तिक ३ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च गुणस्तरको १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन सोमवार आइपुगेको छ । त्यसको जडानको काम सुरु गर्ने तयारीमा प्रतिष्ठान छ । दसै तिहारको बीचमा जडान गरि सक्ने र सेवा सुरु गर्ने सोचका साथ काम सुरु हुने प्रतिष्ठानकी उपकुलपती प्राध्यापक डाक्टर संगीता भण्डारी जानकारी दिइन ।
‘यति ठूलो क्षमता र उच्च गुणस्तर युक्त सिटी स्क्यान मेसिन जिल्लामा ल्याइएको यो नै पहिलो पटक हो,’ उपकुलपति भण्डारीले भनिन् ‘ यो मेसिनमा मुटुको समस्याहरु समेत हेर्न सकिने सुविधा छ ।’प्रतिष्ठानले एकपछि अर्कौ गर्दै पछिल्लो पटक सेवा बिस्तार गर्दै जान थालेको छ । जस्ले गर्दा प्रतिष्ठानको सेवा थप भरपर्दौ र विश्वसनिय बन्दै गएको उपकुलपति भण्डारीले बताइन ।
जिल्लामा अहिलेको लेटेस्ट भर्सनको सिटी स्क्यान मेसिन नहुदा सामान्य सिटी स्क्यानका लागि नेपालगञ्ज, बुटवल, काठमाडौं लगाएतका ठाउँमा जानुपर्ने यहाँका सर्वसाधारणलाई बाध्यता थियो । अब त्यो बाध्यता हट्ने आशा गरिएको छ ।
नाक, कान, घाँटीको उपचारका लागि प्रतिष्ठानले अत्याधुनिक मेसिम फोर के सिष्टम जडान गरिसकेको र दसै तिहारपछि सेवा सञ्चालनमा आउने प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । यसअघि अत्याधुनिक ल्याब, डेण्टल, १० बेडको भेन्टिलेटरसहितको आइसियू , बच्चाबच्चीका लागि एनआइसियू सेवा प्रतिष्ठानले सुरु गरिसेकेको छ ।
‘दाङलाई स्वास्थ्यको हब’ बनाउने उदेश्यका साथ प्रतिष्ठानले सेवा बिस्तारमा तीब्रता दिइरहेको उपकुलपति भण्डारीले बताइन । एकपछि अर्कौ गर्दैै अत्याधुनिक उपकरणहरु भित्र्याइएको हुँदा अब सरकारले बजेटसहित आवश्यक जनशक्ति उपलब्ध गराइदिएमा प्रतिष्ठानको काम कारबाही थप प्रभाबकारी बन्ने बिश्वास भण्डारीले व्यक्त गरिन ।