मङ्सिर १८। ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ। आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए।
निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारबाही गरिएको छ।
कारबाहीमा परेकाबाट जनही रु ५०० का दरले रु १६ हजार राजस्व सङ्कलन भएको महराले बताए। ती बाहेक अन्य सवारीचालकको कागजात जफत गरिएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले सात तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी खटाएको छ । पैदलयात्रुलाई छेउबाट हिँडाउनका लागि वीरेन्द्र चोकमा ट्राफिक कोण राखेर डोरी बाँधिएको छ ।रासस