
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ
दाङ, असोज ११ । प्रदेश ५ मा अभियुक्तहरुको भिडियो कन्फरेन्स मार्फत म्याद थप्न कार्यको सुरुवात भएको छ ।
५ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार प्रदेश ५ अन्तरगतका १२ वटा जिल्ला प्रहरी कार्यालयहरुमा अभियुक्तहरुको भिडियो कन्फरेन्स मार्फत म्याद थप्न कार्यको सुरुवात भएको छ ।
त्यसका साथै ती सबै जिल्ला मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडियो कन्फरेन्स मार्फत म्याद थप्न थालिएको बैदवारले जानकरी दिए । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण संक्रमन थप फैलिन नदिन अदालती प्रक्रियामा भिडियो कन्फरेन्स मार्फत म्याद थप्न थालिएको एसएसी बैदवारले बताए ।
५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपर दाङ, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरसंगको सहकार्यमा जिल्ला स्तरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अनुसन्धानका सिलसिलामा पक्राउ परेका अभियुक्तहरुलाई म्याद थप गर्दा अदालत उपस्थित नगराएरै भिडियो कम्फरेन्स मार्फत म्याद थप्न थालिएको छ ।
यो विधिवाट म्याद थप्दा कोरोनाबाट सुरक्षित हुनुका साथै सेवा छिटो प्रवाह गर्न सकिने तथा अपराध अनुसन्धानमा समेत सहजता हुने विश्वास गरिएको छ । अभियुक्तको बयान लिनेदेखि साक्षी उपस्थित गराउने जस्ता कार्यहरु समेत भविस्यमा त्यसैगरि गर्ने योजनामा प्रहरी रहेको छ ।