
तुलसीपुर, भदौ ६ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन् ।पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले अनेकतामा एकताको सन्देश सम्प्रेषण गर्ने उल्लेख गरेका छन् । यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप हुने, भ्रातृत्व र सद्भाव बढाउने मेयर विश्वास व्यक्त गरेका छन् ।
तुलसीपुरमा थारु जातिको बाहुल्यतालाई दृष्टिगत गरेर थारु भाषाको स्थानीय पाठ्यक्रम निर्माणका साथै कार्यालयको कामकाजको भाषा वनाउने प्रक्रिया समेत अगाडी वढेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले कोरोना महामारीको ध्यानमा राखेर घरमै बसी पर्व मनाउन आग्रह पनि गरेका छन् ।
थारु राजा दंगिशरणको ऐतिहासिक दरबार क्षेत्र सुकौरा उपमहानगरपालिकाभित्र पर्ने भएको हुँदा थारु सँस्कृतिका लागि त्यो खुला पुस्तकालय समान रहेको मेयर पाण्डेले बताएका छन् । थारु राजा दंगिशरणले पाच पाण्डवको सहयोगमा शत्रुहरुलाई परास्त गरेको किंवदन्तिसँग जोडिएको यो पर्वले थारु समुदायमा निकै नै महत्व राख्ने गर्दछ ।
