तुलसीपुर, भदौ ६ । तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साँझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा वन विज्ञान अध्यापन गराउँदै आएको छ ।
तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको कलेजमा तुलसीपुरबासीलाई ४० प्रतिसत छुट दिने निर्णय गरेको हो । कलेजले मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, कृषि विज्ञान, फुड एण्ड डेरी लगायतका चार विषयमा सम्वन्धन पाएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर नगरप्रमुख घनश्याम पाण्डेले आगामी शैक्षिक सत्रबाट ती विषयको पढाई हुने जानकारी दिए ।
कलेजमा सबै कार्यक्रमका लागि तीन वर्षको एकमुष्ट १ लाख ५० हजार शिक्षण शुल्क निर्धारण गरिएको छ । निर्धारण गरिएको शुल्कमा अन्य क्षेत्रबाट आउनेलाई २० प्रतिशत र उपमहानगरबासीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको पाण्डेले बताए ।