
बबि बस्नेत,
सोलुखुम्बु, भदौ ४ । नेपाल कृषिप्रधान मुलुक हो। नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ। परम्परागत कृषि प्रणालीका कारण नेपालको कृषि क्षेत्र सोचेजस्तो प्रगतिको बाटोमा लम्किन सकिरहेको छैन। तराई क्षेत्रका केहि स्थानमा खनजोतका लागि ट्याक्टर र सिँचाइका लागि जेनेरेटरको प्रयोग गर्न शुरू गरे पनि व्यावसायिक रुपमा कृषिमा लागेको संख्या अहिले पनि न्युन मात्रामा छ। कृषिप्रधान देशको रुपमा चिनिदै आएको नेपालमा कृषकहरूले अहिले पनि चाहिए जति प्रविधिको अनुभव गर्न पाएका छैनन्। अन्नभण्डारको रुपमा चिनिने तराईले नेपाललाई पाल्न सकिरहेको अवस्था छैन। तराईमा उब्जिएका सीमित खाद्यान्नले नेपालीहरूलाई पाल्न नसक्नुमा अहिलेको परम्परागत खेतीसँगै उब्जाउ जमिन मासिनु र खण्डहर बन्दै जानु पनि कारण बनेको छ। हावापानी र प्रकृतिले काखी च्यापेको नेपाल र नेपालीहरू आयातीत खाद्यान्नबाट नै पेट भर्न बाध्य भइरहेका छन्। हिमाल र पहाडमा भौगोलिक बनावट प्रतिकुल हुदाँ कृषिमा यान्त्रिकरणका औजार पुर्याएर खेति गर्न निकै चुनौति पुर्ण छ।
नेपाललाई कृषि प्रधान देश भनिएपनी नेपाली जनता अझै खाद्य सुरक्षाको दृष्टिले निकै नाजुक अवस्थामा रहेका छन् । सरकारी तथ्यांकमा उत्पादन बढ्दै गएको देखिए पनि आफ्नै देशमा उत्पादित खाद्य अन्नले सबैको भोक मेटाउन सकेको छैन। भनेको बेला मल र बिउँ नपाउँदा, सिचाईको अभाव हुँदा, बालिनालिमा लाग्ने रोग र किराको उचित व्यवस्थापन नहुँदा र उत्पादनपछी भण्डारण गरीएका अन्नमा हुने क्षतीका कारण नेपाली जनता खाद्य संकटबाट गुज्रिरहेका अवस्था छ। यस्तो अवस्थामा कृषक आफूले भित्राएको बालीलाई कसरी सुरक्षित राख्ने भन्ने बारे सचेत हुनु एकदमै जरुरी छ । उत्पादन बढाउन भन्दापनि उत्पादित बालीलाई सुरक्षित रुपमा भण्डारण गर्नु सहज तथा धेरै फाइदाजनक हुने भएकाले बाली कटानीपछि हुने क्षतिलाई न्यूनिकरण गर्न आवश्यक छ । एक अध्ययन अनुसार हाम्रो देशका कृषकहरुले उत्पादनको करिब ७० प्रतिशत अनाज ग्रामिण स्तरमै राखी आवश्यकता अनुसार बीउ र बेचबिखन गर्छन् । भण्डारणका अनाज एवं बीउका मुख्य शत्रुहरु मध्ये घुन, पुतली, खपटे किरा, मुसा, ढुसी, चरा एवं चोरी, आगलागी आदी हुन् । नेपालको तथ्यांक हेर्ने हो भने करिव १३ लाख ९० हजार ९ सय ३६ मेट्रिक टन खाद्यान्नको नोक्सानी उत्पादनपछि भएको देखिन्छ। यिनीहरुबाट हुने नोक्सानीलाई नियन्त्रण गर्न सके अनाजमा हुने करिब १० देखि १५ प्रतिशत क्षति घटाउन सकिन्छ।
भण्डारण गरीएको अनाजमा लाग्ने कीराहरूको रोकथामः
१. धानको घुन (Rice weevil)
२. खापरा बीटल (Khapra beetle)
३. Paddy borer beetle/ lesser grain borer
४. अन्नको मोथ (Angoumois grain moth)
५. दालको खपटे (Pulse beetle)
६. Rust red flour beetle
७. Long headed flour beetle
८. Saw toothed grain beetle
९. Rice moth
भन्डारणमा गरीएको अनाजमा लाग्ने कीराहरूको नियन्त्रण
सर्वप्रथम राम्ररी पाकेको बालीलाई उचित किसिमले काट्ने र चुट्ने गर्नुपर्छ । भण्डारण स्थल वा कोठा सुख्खा, कम आर्द्रता भएको, सफा, कीरा र मुसा नलाग्ने हुनु पर्दछ । अनाज वा बीउलाई राम्ररी सुकाई मात्र भण्डारण गर्नुपर्दछ । स्वस्थ बालीबाट उत्पादित अनाज वा बीउलाई सकेसम्म १२५ भन्दा कम चिस्यान रहने गरी सुकाउनु पर्दछ । सुकेको भनेर थाहा पाउनको लागि टोक्दा किटिक्क आवाज आउनु पर्दछ । भण्डार कोठा सफा लिपपोत गरेको, पुरानो अनाज वा बीउको दाना नभएको, हावा आवत जावत हुन सक्ने र चिसो सुकेको हुनु पर्दछ । गर्मी एंव बढी आर्द्रता भएको समयमा दुई हप्तामा एक पटक भण्डारण गरेको अनाज वा बीउलाई कीरा वा ढुँसी छ छैन भनी जाँच गर्नु पर्दछ र सम्भव भएमा भण्डारण गरेको अनाज वा बीउलाई बारम्वार सुकाई थन्क्याउने गर्नुपर्दछ, भकारीलाई फल्याक वा काठ माथि राख्नु पर्दछ ।
१. सुरक्षित भन्डारण-
हामीले हाम्रो गाउघरमा बर्षौ बाट अनाजचोयाको डोको, माटोको भाँडा, वोरा, मोरी, ख्वाङ्गा, डेहरी, खेनरी आदिमा राख्ने गरेका छौ । यसरी राख्दा भन्डारणमा बढी क्षती हुने पाइएको छ । हाल आएर यस्ता समस्या हटाउन अन्तरास्टृए धान अनुसन्धान संस्थाले सुपर ग्रेन ब्याग निकालेको छ । सुपर ग्रेन ब्याग एक किसिमको प्लाष्टिक झोला हो यसभित्र अनाज वा बीउ भण्डारण गर्दा यस भित्र बिस्तारै अक्सिजनको मात्रा कम हुन्छ र कार्बनडाईअक्साइडको मात्रा बढ्न जान्छ । फलस्वरुप कीराहरू अक्सिजनको खोजीमा माथिल्लो सतह तिर आउँछन् र करिब ३–४ दिन भित्रमा अक्सिजन नपाएर मर्दछन् । हाल बजारमा विभिन्न तौल भएका ब्यागहरू पाइन्छन् । ६५ केजी तौलसम्म बीउ भण्डारण गर्ने ब्यागको मूल्य २५० देखि २७५ रुपैयाँसम्म पर्दछ ।
२. बनस्पतिक विषादिको प्रयोग-
हाम्रै वरपर पाइने बिभिन्न बनस्पति जस्तै बोजो, निम, तितेपती, टिमुर, बेसारका साथै खरानीको धुलोलाई पनि प्रयोग गरेर अनाजलाई सुरक्षित राख्न सकिन्छ । बोझोको जराको धुलो २०–२५ ग्रामप्रति केजी अनाजका दरले राख्दा घुनबाट बचाउन सकिन्छ, त्यसैगरी बोझोको जराको धुलो ५० ग्राम प्रतिकिलोग्राम मकैमा मिसाएर राख्दा मकैमा लाग्ने घुनको २२५ दिनसम्म पनि नियन्त्रण भएको पाइएको छ। निमको बीउको धुलो १ भाग १०० भाग अनाजमा मिसाएर राख्दा मकैको घुन पुतलीबाट अनाजलाई ६ महिनासम्म जोगाउन सकिन्छ । नीमको सुकाएका पात २–१० प्रतिशत तौलका हिसावले मिसाएर भण्डारण गरेमा करिब ४ महिनासम्म नियन्त्रण गर्न सकिन्छ। मकैको भण्डारण गर्दा ५ ग्राम खरानी प्रति कि।ग्रा।अनाजमा मिसाई राख्नाले अनाजलाई ९ महिना सम्म घुनबाट सुरक्षित राख्न सकिन्छ। टिमुरको ३ ग्राम धुलो प्रति किलोग्राम अनाजमा राख्दा भण्डारणमा लाग्ने कीराहरूबाट बचाउन सकिन्छ । त्यसैगरी झुसेतिलको तेल १–२ मि।लि। प्रति किलोग्राम अनाजका दरले उपचार गरेर थन्क्याएको अनाजमा घुन र पुतलीहरूले क्षति गर्न सक्दैनन् । बेसारको धुलो २० ग्राम प्रति किलोग्राम, तोरीको तेल १० एम।एल। प्रति किलोग्राम, घरमा लगाउने चुना १० ग्राम्के।जी काठको धुलो १० ग्राम् के।जी।का दरले बीउ वा अनाजमा भण्डारणमा राख्दा मकै र गहुँमा लाग्ने घुन नियन्त्रण हुन्छ ।
३. रासायनिक विषादिको प्रयोग –
भण्डारणलाई सफा गरिसकेपछि लुकी बसेका कीराहरूलाई मार्न ५०५ को मालाथियन झोल विषादी १ मि।लि। प्रतिलिटर पानीमा मिसाई छर्नु पर्दछ । बीउको लागि मात्रै प्रयोग गरिने हो भने किराको लागि मालाथियन धुलो १–२ ग्राम र रोगको नियन्त्रणको लागि बेभिष्टिन २ ग्राम प्रति केजी बीउका दरले प्रयोग गर्न पनि सकिन्छ तर सो बीउ खानामा प्रयोग कदापि गर्नु हुदैन । बीउको हकमा कीरा लाग्न नदिनको लागि सेल्फसको २–३ चक्की मलमल कपडामा बेरेर १ मेट्रिक टन भण्डारण गरेको बीउमा भकारीभित्र हात घुसाएर ६ देखि १२ ईन्च भित्र भकारीमा राखी हावा नछिर्ने गरि बन्द गरेर राखेमा कीरा मर्दछ ।
भण्डारणमा लाग्ने मुसाको नियन्त्रण-
त्यसैगरी धान मकै गहुँ दाल र गेडागुडि भण्डारणमा लाग्ने मुसा र तिनको व्यवस्थापन ठुलो चुनौतीको रुपमा देखा पर्दै आएको छ। मुसाले घर गोदाममा थन्क्याएका अनाजलाई खानुको साथै फोहरमैला गराएर क्षति पुर्याउँछन् । नेपालमा ५ किसिमका मुसाहरूबाट बढि क्षति भएको पाइएको छ।मुसाहरू फोहोर थुपारेको ठाउँ, झारपातले भरिएको ठाउँ, सफा नराखिएको नाली कुलो, नहर आदिमा बस्ने हुनाले सरसफाइमा ध्यान दिन सकेमा स्वतः मुसाको आक्रमण कम हुन जान्छ । भण्डारण गर्ने कोठा सजिलै सफा गर्ने किसिमको हुनु पर्दछ र समय समयमा सफा गरिराखेमा यसको आगमनलाई नियन्त्रण गर्न सकिन्छ । साथै मुसाहरू विभिन्न ठाउँका प्वालहरूबाट आउने हुदाँ त्यस्ता प्वालहरूलाई राम्रोसँग टालेमा यसको आक्रमण कम गर्न सकिन्छ ।
अनाज भण्डारण गर्दा टिनको भकारी, घ्याम्पो, प्लाष्टिकका भाडाँहरू आदिको प्रयोग गरेमा मुसाहरू भित्र जान सक्दैनन् । अर्को उपयुक्त बिधि भनेको साँचोमा वा लिसोमा परेर मार्नु हो। बर्जा मा य्एस्ता मुसा बल्झाउने साँचो सजिलै किन्न पाइन्छ। विभिन्न थरीका साँचोमा लोभ्याउने खानाहरू (पाकेको केरा, सिद्रा माछा, गहँुको पिठो आदी) राखि आकर्षण गराई मुसा आवतजावत गर्ने ठाउँमा थापेर मार्न एवं पक्रन सकिन्छ। लिसो एक प्रकारको च्यापच्याप टाँसिने पदार्थ हो यसमा लोभ्याउने चिज पनि राखिएको हुन्छ, जब मुसा लोभिएर आउँछ, यसमा टाँसिएर पासोमा पर्छ । मुसालाई विभिन्न किसिमका रासायनिक विषादी प्रयोग गरि नियन्त्रण गर्न सकिन्छ । मुसालाई मन पर्ने खानामा विष मिसाई ख्वाएर मार्न सकिन्छ ।
यसरी लोभ्याउने खानामा राख्ने विषादीहरूमा जिंक फस्फाइड प्रयोग गर्ने चलन छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा गरिएको परीक्षणमा सिद्रा माछाको प्रयोगमा बढि मुसा आर्कषण भएको पाइएको छ । सिद्रा माछा शुरुको २ दिन विषादी नराखि प्रयोग गर्ने जब मुसाले खाएर लोभिन्छ त्यसपछि विष प्रयोग गर्नुभन्दा १० मिनेट अगाडि पानीमा भिजाउने र भुडीको बिचभागमा बाहिर विषादी नलाग्ने गरि जिंक फस्फाइड राखी मुसा आवतजावत गर्ने ठाउँमा राख्ने । यो विधिमा मुसाको नियन्त्रण सबैभन्दा प्रभावकारी देखिएको छ । मुसाको सुरुड्डलाई विषालु ग्याँसले धुँवाउन सकिन्छ । यसरी विषालु ग्यासँले धुँवाएपछि सुरुड्डभित्र बसेका मुसा मर्दछन् । अलुमिनियम फस्फाइड (सेल्फस, फस्टक्सिन)का चक्कि (१–२ प्वाल) प्रयोग गर्न सकिन्छ ।