
काठमाडौं, भदौ २ । राजधानी काठमाडौंमा एक साता निषेधाज्ञा जारी गर्ने बारे छलफल भएको छ ।बुधवारदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्न सुझाव सुरक्षा अधिकारीले सल्लाह दिएका छन् । कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले त्यस्तो निष्कर्ष निकालेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले त्यस्तो निष्कर्ष निकालेको हो। तर, यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले मात्र गर्न सक्ने छ।
बैठकमा सहभागी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले कम्तिमा एक साताका लागि काठमाडौंमा निषेधाज्ञा लगाउन सकिने राय सबै पक्षबाट पेश भएको जानकारी दिए । सरकारबाट के निर्णय आउँछ त्यसको भने अझैं टुङ्गो लागि सकेको छैन । काठमाडौं प्रशासनका प्रवक्ता तुल्सीराम पौडेलले पनि एक साता अत्यावश्यक सवारीसाधन, खाद्यान्न र औषधिजन्य पसलबाहेक अन्य सबैथोक बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने सल्लाह भएको बताए ।