ओमप्रकाश गुप्ता,
सिसहनियाँ, भदौ १ । दाङमा सोमबार एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा नम्बर १ का ४८ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।प्रतिष्ठानले जारी गरेको सूचनामा राप्ती गाउँपलिकाबाट संकलन गरिएको ४७ वटा स्वाब मध्ये एक जनामा कोरोना पुष्टि भएको हो ।
ती पुरूष साउन २४ गते कतारबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । अहिले राप्ती गाउँपालिकाको होम क्वारेन्टाइनमा ११ जना, क्वारेन्टाइनमा १ जना गरि १२ जना बस्दै आएका छन् । त्यस्तै देउखुरी आइसुलेसन सेन्टरमा ६ जनाको उपचार भइरहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।
स्वाव संकलन क्वारेन्टाइन, होमक्वारेन्टाइन र समुदाय स्तरबाट गरिएको थियो । सोमबार नै प्रतिष्ठानमा जिल्ला प्रशासन कार्यालयबाट संकलित ३१ जना सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानबाट संकलित थप १९ वटा स्वाबको रिपोर्टपनि नेगेटिभ आएको छ ।