तुलसीपुर,साउन २६ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरलाई स्थानीयले सम्मान गरेका छन ।
भेडी गोठजस्तो अस्पताललाई अस्पताल जस्तो बनाएको भन्दै डा ठाकुरलाई स्थानीयवासीले सम्मान गरेका हुन ।
प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना भएको तीन दशक पुग्यो तर त्यहाँ आउने डाक्टरलाई स्थानीयले सम्मान गरेका थिएनन् ।
स्थापनाको तीन दशक पछि अस्पतालको सेवा सुविधा , भौतिक संरचना निर्माणमा उल्लेखनीय योगदान गरेको भन्दै सोमवार स्थानीयहरुले डाक्टर ठाकुरलाई फुलमाला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
तीन वर्षको अवधिमा डाक्टर रामकामेश्वर यादवले अस्पतालमा एक हजारभन्दा बढीको क्षारसूत्र विधिबाट शल्यक्रिया गरेका थिए ।
अस्पतालमा डाक्टर आउनुपूर्व ५÷७ जना मात्रै बिरामी आउने गरेकोमा सेवा सुविधा बढाएपछि हाल दैनिक पचासभन्दा बढी बिरामी आउने गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोकर्ण पौडेलले निर्विवादित डाक्टर रामकामेश्वर ठाकुरले अस्पतालको सेवा सुविधा बढाएको बताए ।
कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले अस्पतालको सेवा सुविधा विस्तार गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
सो अवसरमा तुलसीपुर स्तरीय योग प्रशिक्षण केन्द्रका सदस्य लोकेन्द्र बैरागी लगायतकाले मन्तव्य राखेका थिए ।
योग प्रशिक्षण केन्द वडा नम्बर १८ का अध्यक्ष मुकेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टीकाराम पौडेलले गरेका थिए । योग प्रशिक्षण केन्द्र बिजौरीका अध्यक्ष बालकृष्ण रेग्मीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय अस्पताल २०४८ सालमा स्थापना भएको थियो ।