रोजगारी र समृद्धिका लागि वन ः नगरप्रमुख पाण्डे
तुलसीपुर,साउन २५ । सामुदायिक वन उपभोक्ता महासंघको पाँचौ स्थापना दिवस मनाइएको छ ।
समृद्धिका लागि सामुदायिक वन, उत्पादन र वृद्धिमा योगदान भन्ने मुल नाराका साथमा स्थानीय वन महासंघ तुलसीपुरले अन्तक्र्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।
शान्ती पार्कमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले सामुदायी वनलाई समृद्धीसँग जोड्नुपर्ने कुरामा जोड दिए ।
सामुदायिक वनले हरियाली मात्रै नभएर आम मानिसको जीवनस्तर परिवर्तनमा पनि महत्वपूर्ण भुमिका खेलेको कुरामा जोड दिए ।
“आज गाउँगाउँमा उपभोक्ताहरुले सामुदायिक वनका माध्यमबाट हरित रोजगारी सृजना गरेका छन् , नेतृत्व क्षमताको विकास गरेका छन् , धेरै कुरा दिएको छ सामुदायिक वनले ” नगरप्रमुख पाण्डेले वताए ।
जनताको बल र सक्रियताले मात्रै वन फडाँनी रोकिएको वताउँदै सामुदायिक वन उपभोक्ता महासंघका कारण नाँगा डाँडाहरु हराभरा भएको उनको कथन थियो ।
नेपालको सामुदायिक वन विश्वका लागि समेत उदाहरणीय भएको वताउँदै हजारौ विदेशीहरु नेपालको सामुदायिक वन अध्ययनका लागि आउने गरेको उनले वताए ।
स्थानीय सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा श्री गणेश सामुदायिक वनका अध्यक्ष कुलप्रसाद भण्डारी, राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्ली भण्डारी लगायतले सामुदायिक वनको महत्वका बारेमा बोलेका थिए ।
नेत्रमणी शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष द्रोण वहादुर वलीले गरेका थिए ।
यसैविच स्थापना दिवसको अवसर पारेर राप्ती शान्ती उद्यानमा विभिन्न विरुवा समेत लगाइएको थियो ।