तुलसीपुर, साउन २४ । राप्ती बबई क्याम्पस तुलसीपुरले विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता स्विकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।क्याम्पसको आन्तरिक सुनिश्चितता समितिको शनिबार त्यसवारेमा जानकारी प्रदान गर्ने तथा सुझाब संकलन गर्ने कार्य भएको छ । समितिका संयोजक बिरबहादुर भण्डारी (मोहन)को अध्यक्षता एबम प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्य र तुलसीपुर मेयर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्य संचालन निर्देशिका अनुसार भौतिक पूर्वाधार विकास गर्नुपर्ने, प्रशासनिक गतिविधिलाई चुस्तदुरुस्त र प्रभावकारी वनाउने पर्ने, समय अनुकुल शैक्षिक वातावरण तयार गर्नुपर्ने, संस्थालाई हराभरा, स्वच्छ, सफा राख्ने तथा शान्त वातावरण कायम गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । ति मध्ये कम्तिमा ७५ प्रतिसत कुरा पुरा भई सकेको दाबी गरिएको छ । आगामी असोजको पहिलो हप्ता क्याम्पसको अवलोकन भ्रमणका लागि आउने टोलिले अध्ययन गरेपछि प्रमाणपत्र प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच संघीय सभाका सदस्य हिराचन्द्र केसीले पश्चिम दाङका लागि शैक्षिक केन्द्रको रुपमा बिकास गर्नुपर्ने राप्ती बबई क्याम्पसको बिकासका लागि आफुले प्रयास गर्ने बताएका छन् ।तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले क्याम्पसको बिकासका लागि दिर्घकालिन सोच बनाउनुपर्ने बताए ।क्याम्पस सञ्चालक समितिका सल्लाहकार सुशील बस्नेतले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको स्विकृति प्राप्तिका लागि हरेक प्रक्रियामा सबै क्षेत्रबाट सहयोगको खाँचो औंल्याएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाले क्याम्पसको बिकाशका लागि सवै पक्षलाई सहयोगको आह्वान गरे । उपाध्यक्ष मिनराज केसीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख भुपबहादुर बुढाथोकीले गरेका थिए ।