दाङ, साउन १९ । घोराहीमा करेन्ट लागेर सहोदर दाजु भाइको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १ हर्नौक निवासी १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीयक बिरबहादुर रावत दाजु भाइको करेन्ट लागेर सोमवार विहान मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले फरककोणलाई बताए ।
उनीहरुका बुवा ३७ बर्षीय दिलबहादुर रावत घाइते भएका छन् । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । रावतले आइतवार बेलुकी आफ्नै मकै बारीमा जंगली बँदेल मार्नको लागि भन्दै विधुतिय धराप थापेका थिए । जंगली बँदेल आएर मकै खाइदिएर नोक्सान पार्न थालेपछि त्यसलाई मार्न भनि उनीहरुले मकै बारीमा करेन्टको धराप थापेको र त्यसैमा परि दाजु भाइको मृत्यु भएको डिएसपी खड्काले बताए ।
‘सोमवार विहानै बँदेल त्यसमा परेको छ कि भन्ने ठानेर बाबु छोरा धराप हेर्न पुगेछन्,’ डिएसपी खड्काले भने ‘तर एउटा छोराले गल्तिबस त्यो धराप छुन पुगे । भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न भनि गए र दुबैको करेन्ट लागेर मृत्यु भएछ।’
आफ्ना दुबै छोरा करेन्टको धरापमा परेर लडेको देखेपछि बाबुपनि आत्तिदै अगाडी बढ्दा उनलाई पनि करेन्ट लाग्न पुग्यो । उनीपनि घाइते भए । भाग्यले बाबुको ज्यान भने जोगिए । घटनावारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।