यमकला भुसाल,
तुलसीपुर,साउन १६ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुर दाङले लगभग सतप्रतिसत विकाश बजेट खर्च गरेको छ ।कार्यालयले वितेको आर्थिक वर्ष २०७६÷०७७ मा ९१ करोड ८१ लाख ८५ हजार कुल विनियोजित बजेट मध्य ८४ करोड १७ लाख ५१ हजार खर्च भएको जनाएको छ । यो ९१ दशमलब ६८ प्रतिशत हुन आउँछ ।
कार्यालयका डिभिजन प्रमुख गणेश मरासिनीका अनुसार २०७६÷०७७ मा चालु तर्फ १ करोड २ लाख ५५ हजार बजेट मध्य ९७ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै पूँजिगत तर्फ ९० करोड ७९ लाख ३० हजार बजेट मध्य ८३ करोड २० लाख १० हजार खर्च भएको छ । त्यस्तै समानिकरण÷राजश्व अनुदान तर्फ ६६ वटा आयोजनाका लागि ५२ करोड ७५ लाख ३० हजार बजेट विनियोजित भएकोमा ६४ आयोजना कार्यान्वयन गर्दा ४५ करोड १६ लाख १० हजार खर्च भएको प्रमुख मरासिनीले जानकारी दिए ।
सशर्त तर्फ २५ आयोजनाका लागि ३८ करोड ४० लाख बजेट विनियोजित गरिएको र १८ आयोजना कार्यान्वयन गर्दा ३८ करोड ४० लाख नै खर्च भएको उनले बताए । त्यसमध्य १८ वटा आयोजनाहरु भने कार्यान्वयन हुन नसकेको मरासिनीले जानकारी दिए । संघीय सशर्त अनुदान तर्फ १० वटा सिंचाई योजना सम्पन्न भएको र त्यसले ९ सय १८ हेक्टर जमिनमा सिंचाई सिंचाइ सुविधा पु¥याउने आशा व्यक्त गरे ।त्यस्तै प्रदेश अनुदान तर्फ ३ वटा सिंचाई योजना सम्पन्न भइ २ सय ९७ हेक्टर सिंचाई योग्य जमिनमा थप सिंचाइ सुविधा पुग्ने पूर्वाधारहरू निर्माण भएको मरासिनीले बताए ।
संघीय सशर्त अनुदान तर्फका ३ वटा नदी ब्यवस्थापन आयोजनाहरूबाट वितेको आर्थिक वर्षमा ९ हजार ५ सय मिटर लम्बाइमा तटबन्ध निर्माण भइ करिब २ सय ३० हेक्टर खेति योग्य जमिन उकास हुनुका साथै करिब ८ सय १५ घरधुरीहरू बाढीको जोखिमबाट सुरक्षित भएको प्रमुख मरासिनीले जानकारी दिए ।
प्रदेश अनुदान तर्फकै ५ वटा नदी ब्यवस्थापन आयोजनाहरूबाट वितेको वर्षमा ५ हजार ६ सय मिटर लम्बाइमा तटबन्ध निर्माण भएको र त्यसले करिब १ सय ५५ हेक्टर. खेति योग्य जमिन उकास भएको उनले बताए । जसवाट करिब ९ सय १२ घरधुरीहरू बाढीको जोखिमबाट सुरक्षित बनेको उनले तथ्याङ्क प्रस्तुत गरे ।
कार्यालयले बजेटको प्राथमिकतामा कृषिलाई राखेको भएपनि प्राथमिकता अनुरूप सिंचाई क्षेत्रमा न्यून बजेट विनियोजनले गर्दा समस्या भएको उनले बताए ।चालु आर्थिक वर्षमा क्रमागत रुपमा बहुला खोला, तुलसीपुरको पातुखोला, घोराहीको सवार गुज्रे खोला, देउखुरी क्षेत्रमा दोलाई खोला, कक्रहवा खोला र सिक्रवा खोलाको प्रदेश सरकार र संघीय सरकारको अनुदानबाट काम हुने कार्यालयले जनाएको छ ।
संघीय सरकारको सशर्त अनुदानअन्तर्गत देउखुरी क्षेत्रका दोलाई खोला, कक्रवा खोला र सिक्रवा खोला ब्यवस्थापन कार्य भईरहेको प्रमुख मरासिनीले बताए ।त्यस्तै तुलसीपुरको पातुखोला, पश्चिम दाङको बहुला खोला र घोराहीको सवार गुज्रे खोलामा ब्यवस्थापनमा प्रदेश सरकारको अनुदान तर्फबाट काम भइरहेको जानकारी दिए ।