दाङ, साउन १३ । सल्यानमा मास्क नलगाउनेहरु विरुद्धको कारवाहीलाई प्रहरीले तीव्र पारेको छ । कारोना भाइरसको संक्रमन फैलन नदिन भन्दै प्रहरीले मास्क नलगाई हिड्नेहरु विरुद्धको कारवाहीबाट एकलाख बढी राजश्व संकलन भएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार असार २७ गतेदेखि साउन १३ गतेसम्म मास्क नलगाउनेहरुलाई कारवाही गर्दा एकलाख तीन हजार नौंसय रुपैंया राजश्व संकलन भएको छ । यो अवधिमा दश हजार ३९ जनालाई आर्थिक जरिवाना गर्दा उक्त राजश्व संकलन भएको डिएसपी खतिवडाले बताए । प्रहरीले मास्क नलगाई हिड्ने व्यक्तिलाई एक सय रुपैंया जरिवाना तिराउँदै आएको छ ।
मंगलवार मात्रै १ सय ८० जनालाई कारवाही
सल्यानमा मंगलवार मात्रै एक सय ८० जना कारवाहीमा परेका छन् । एकैदिन १८ हजार राजश्व संकलन भएको छ । श्रीनगर बजारमा ३० जना, कपुरकोट बजारमा १७ जना, खलंगा बजारमा १५ जना, समखोली बजारमा ५० जना, थारमारे बजारमा ४ जना, बनगार बजारमा १४ जना र देवस्थल बजारमा ५० जना कारवाही परेको डिएसपी खतिवडाले जानकारी दिएका छन् ।