काठमाडौं, साउन ११ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ।
कांग्रेस अनुशासन समितिको शनिबारको बैठकले तनहुँका जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई कारवाही गरेको हो।
जोशीलाई तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोप थियो। २०७४ सालमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका जोशीको उम्मेद्वारी खारेज भएको थियो।
पौडेलले तनहुँमा नेकपाका किसान श्रेष्ठसँग चुनाव हारेका थिए। स्तै कैलालीमा आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका महासमिति सदस्य तथा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई पनि कांग्रेसले कारवाही गरेको छ।
जोशी र ओझालाई पाँच वर्ष कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी अनुशासन समितिले कारवाही गरेको हो।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा जिल्ला कार्यसमितिका सचिव रामबहादुर विष्टलाई तीन वर्ष साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेस अनुशासन समितिले गत फागुन १९ गते तीनै जनालाई स्पष्टिकरण सोधेको थियो। उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कारवाही गरिएको हो।कांग्रेस अनुशासन समिति संयोजकमा भीष्मराज आङ्दम्बे छन्। पाँच सदस्यीय अनुशासन समितिमा सभापति देउवादेखि शीर्ष नेताहरू विरूद्ध पनि अनुशासन उलंघन आरोपमा उजुरी छ।