दाङ, साउन १० । दाङ प्रहरीले झन्डै सात केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा देउखुरीको भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरि पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरी प्रमुख चन्दले प्रहरीले उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम बरामद गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्ती मगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्ती मगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विक रहेको एसपी चन्दले बताए ।
प्रहरीले उनीहरुले प्रयोग गरेको लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जीप, लु ४० प ९८०६ नम्वरको २२० सिसीको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्यादथप गरि थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनको सहजीकरण प्रहरी नायव उपरिक्षक सुमित खड्काले गरेका थिए ।
प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणलाई कडाई गरेको छ । जसअन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध गाजालाई नष्ट गर्ने काम तीब्र रुपमा भइरहेको समेत प्रहरी डिएसपी खड्काले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिवार विहान घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरस्थित बिभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएर फैलिएको झन्डै ५ कठ्ठा क्षेत्रफलको गाँजाका बोटहरु नष्ट गरिएको डिएसपी खड्काले बताए ।
प्रहरी निरीक्षक महेन्द्र सेनको कमाण्डमा खटिएको प्रहरी टोलीले खोला किनार लगाएका स्थानमा प्राकृतिक रुपमा जागेको गाँजका बोटहरु फडानी गरी नष्ट गरेको थियो । उक्त कार्यमा घोराही १८ का वडा अध्यक्ष भरतमणि अर्याल, स्थानीय सर्वसाधारण लगाएको सहभागिता रहेको थियो ।