दाङ, साउन ६ । डिभिजन वन कार्यालय दाङले वन पुनःस्थापना अभियान थालेको छ । विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा बृहत्तर बृक्षारोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।
यो अभियान अन्तरगत यसबर्ष एक सय ६० हेक्टर क्षेत्रफलमा बृक्षारोपण थालिएको छ । त्यसैको प्रयास स्वरुव मंगलवार घोराही उपमहानगरपालिका वडा नम्बर २ को गौरी सामुदायिक वनको करिब ६० बिगाह क्षेत्रफलमा २८ हजार बिरुवा रोपिएको छ ।चुरे पुनर्स्थापन अभियान सफल पारौं भन्ने मुल उद्देश्यले बृहत्तर वृक्षारोपण अभियान सुरु गरिएको प्रमुख ज्ञवालीले बताए ।
मौवा, आँप, खयर र बाँसका गरी करीव २८ हजार बिरुवा रोपिएको छ । भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा विरुवा रोपण गरिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।करीव ६ सय उपभोक्ता रहेका सो सामुदायिक वनका सदस्यहरुले प्रत्येकले १–१ वटा बाँसका बोट पनि रोपेका छन् ।
विरुवा संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि जिल्ला वन कार्यालयले १० लाखको तारजाली सहयोग गरेको छ । कार्यक्रममा प्रतिनिधीसभा सदस्य सुजिता साक्य, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी महिला नेतृ मेनका पोख्रेल सहित वन समूहका ६ सय उपभोक्ता र नेपाली सेनाको टोलीले बृक्षारोपण गरेका हुन्