
तस्विर ः फरककोण
दाङ,साउन ६ । तुलसीपुर एफएमका तत्कालिन अध्यक्ष देविप्रसाद धिताल (हेमराज)को हत्या भएको दश वर्ष पुरा भएको छ ।
सञ्चार उद्यमी धितालको २०६७ साल साउन ६ गते अपरान्ह सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपराधिक समुहले गोली हानेर हत्या गरेको थियो ।
धितालको हत्या भएको दश वर्षसम्म पनि प्रहरीले उनको हत्या कस्ले र किन गरेको हो ? भन्ने पत्ता लगाई सकेको छैन । दश वर्षदेखि प्रहरी घटना अनुसन्धानकै क्रममा भएको बताउँदै आएको छ ।
देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले मंगलवार तुलसीपुरमा आयोजना गरेको १० औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले ९ औ स्मृति कार्यक्रममा गरिएकोे प्रतिबद्धता पुरा गर्न नसकेपनि अनुसन्धान भने जारी रहेको बताए ।
उनले बर्षौ अघिका अपराधहरुलाई अनुसन्धानको निरन्तरताले अपराधिसम्म पुगेका थुपैं घटनाहरुकोे स्मरण गर्दै धितालका हत्यारा पनि एक न एक दिन पक्राउ पर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले २०६७ साल साउन ६ गते एक समूहले धितालको गोली हानी हत्या गरेको सम्बन्धमा बिगतमा गरिएको अनुसन्धान र बिश्लेषणलाई अध्ययन गरिरहेको जानकारी दिए ।

तस्विर ः फरककोण
‘म तुलसीपुरमा सरुवा भई आएको झण्डै डेढ महिना भयो, सिंहले भने ‘डेढ महिनाको अवधिमा लकडानका कारण अन्य बिषयमा काम गर्न नपाएपनि बाँकी १५ दिनपछि अनुसन्धानका फाईललाई अध्ययन गरिरहेको छु।’ धितालका हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा स्वर्गीय धितालकी छोरी मनिषा धितालले बुबाको हत्या भएको दश बर्ष पुग्दा समेत हत्याको कारण र हत्यारा पत्ता नलाग्दा आफुहरु त्रासमा बाँचिरहेको बताइन । उनले छिटो भन्दा छिटो आफ्ना बुबाको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह पनि गरिन ।
देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय धितालको शालिकमा माल्यापर्ण पनि गरिएको थियो ।
धितालको १० औँ स्मृति कार्यक्रमका अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त सञ्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोग तथा त्रिशिद्धेश्वरी राप्ती यातयात सेवा प्रालिका पदाधिकारी,कर्मचारी र मजदुर गरि १९ जनाले रक्तदान गरेका छन् । धिताल साविक राप्ती समितिका अध्यक्ष पनि हुन ।
रक्तदान गर्नेहरुमा सुवर्ण डाँगी,कमल वली, केशरवहादुर चन्द, विरेन्द्र चन्द, सुजित लामिछाने,वामदेव लामिछाने, किरणवहादुर वम, अर्जुनजंग केसी, अमित देवकोटा,श्याम वस्नेत, आशा वस्नेत, बेदवहादुर खत्री,पोखरराज वली, हरि खड्का, विशाल विक, राजेश पुन, प्रितम श्रेष्ठ, दिपकराज कार्की, जानुका रजौरेले रक्तदान गरेका हुन ।
कार्यक्रमको सहजिकरण धिताल प्रतिष्ठानका सचिव महेन्द्र लामिछानेले गरेका हुन । हप्ता हुँदा धिताल रेडियो तुलसीपुरका अध्यक्ष थिए ।
नेपाली काँग्रेसको आसन्न निर्वाचनका लागि चुनावी प्रचार प्रशार गरि तुलसीपुरस्थित घर तर्फ फर्कदै गर्दा उनीमाथि एक हतियार धारी समुहले तुलसीपुर १२ हेमनगरमा लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो ।
समसाँझै भएको उक्त घटनाको दश वर्ष वितिसक्दापनि हत्यारा पत्ता नलाग्दा परिवारजन त्रासमा बाँचिरहेका छन् ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार