जाजरकोट,असार २९ । जाजरकोटमा सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारण एक महिलाको ज्यान भएको छ ।
आइतवार साँझ जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको हो ।
प्रसव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले जनाएका छन ।
‘बाहिर पानी परिरहेको थियो प्रसव पीडा शुरु भयो, उहाँले बच्चा त जन्माउनुभयो, तर अत्याधिक रक्तश्राव भएपछि घरमै ज्यान गएको हो’स्थानीय ज्योतिखर शर्माले बताए । उनका अनुसार बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।
अहिलेसम्म स्वास्थ्यर्र्मी पनि घरमा पुग्न सकेका छैनन् । गाउँपालिकाले यसबारे कुनै जानकारी नपाएको जनाएको छ । घरमा मोबाइल फोन समेत नभएका पुरी परिवारको छिमेकीसँग मोबाइल भए पनि नेटवर्क नटिप्ने भएकाले कसैलाई सम्पर्क गर्न नसकेको स्थानीयले बताएका छन् ।
दुई घण्टा पैदल डाँडामा गएर फोन गर्नुपर्ने बाध्यताले सुत्केरी स्याहार नभएरै जाजरकोटमा आमा बन्नेहरुले अनाहकमा ज्यान गुमाउदै आएको नागरिक अगुवा राजेन्द्रबिक्रम शाहको भनाइ छ ।