तुलसीपुर,असार २८ । प्रहरीलाई नै घुस दिन खोज्ने दूई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैला कुटी निवासी २७ बर्षीय गोविन्द शाह र प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ५ भिङ्ग्रीका घर भइ हाल दाङको लमही नगरपालिका वडा नं. ५ लमही बजारमा बस्दै आएका ३० बर्षीय समिर भण्डारी रहेका छन् ।
शनिवार बेलुका ५ बजेतिर वडा प्रहरी कार्यालय घोराहीमा पुगेर उनीहरु दुबै जनाले ब्राउन सुगरको मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई दिन भन्दै कार्यालय प्रमुख प्रहरी निरिक्षक दिनेश रिमाललाई डेढलाख रुपैंया दिन खोजेका थिए । दुबै जनाले रिमालको कार्यकक्षमै कुरा गर्ने क्रममा जवरजस्ती घुस स्वरुप डेढलाख दिन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख छ ।
प्रतिवन्धित आगु औषध ब्राउन सुगर मु्द्दामा पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्री समेतको मुद्दा मिलाई दिनु प¥यो भन्दै शाह र भण्डारीले प्रहरी निरिक्षक रिमाललाई उनको कार्यकक्षमै डेढलाख रुपैंया दिएका थिए ।डिएसपी खड्काका अनुसार तत्काल उनीहरुलाई घुस रकमसहित त्यहीवाट पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेका शाह र भण्डारीलाई आइतवार आवश्यक कानुनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल रुपेन्देहीमा पठाएको छ ।