दाङ,असार २८ । दाङमा पुनः सलह किराको हुल भित्रिएको छ । जिल्लाको देउखुरी उपत्यकाको राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको हो । पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।
किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाका एक किसानले बताए ।
आइतवार दिउँसो एक बजेदेखि प्यूठानतिरबाट सलह किरा आएको र किसानहरु पानीको पर्वाह नगरी आफ्ना बालीनाली जोगाउने प्रयास गरिरहेको बताए ।
यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् ।
दाङ देउखुरीको सिमाना प्युठानको दरबान क्षेत्रमा पनि सलह आएको स्थानीयले बताएका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।