२०७८ जेष्ठ २ गते आइतवार

काउलेको डाँडोमा १ हजार ८ सय चिउरी विरुवा रोपियो

हेमराज शर्मा, दाङ, असार २८ । दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै चिउरीको बगान बगाउने गरि बृक्षारोपन थालिएको छ ।
ऐतिहासिक महत्व बोकेको गडी लेखको काखमा रहेको काउले डाँडाको खाली बन क्षेत्रमा बहुउपयोगी चिउरीको उध्यान बनाइ पर्यटकीय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको हो । जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ रहेको काउले वातावरणिय दृष्टिले चिसो क्षेत्र हो ।
जहाँवाट दाङको प्रायः सवै क्षेत्र अवलोकन गर्न सकिन्छ । अहिलेपनि मानिसहरु वनभोज खान त्यहाँ जाने गर्छन । उक्त स्थानलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सीमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानको सुरुवात गरेका हुन ।
सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा उपभोक्ताहरु पनि सहभागि भएका थिए ।
बृक्षरोपणमा ८७ बर्षिय बृद्धकोपनि सक्रियता आइतवार बिहानै सिमसिम पानी परिरहेको थियो । कुहिरोले वातावरण घपप्क ढाकेको थियो । हातमा पुरानो छाता र लौरो टेकेर करिव आधाघण्टा पैदली हिडेर ८७ बर्षीय रामप्रसाद बिक चिउरीको बिरुवा लगाउन आइपुगे ।
यहाँका धेरै मानिस अवसरको खोजीमा भन्दै शहर हिडिसके । त्यसपछि नाङ्गा डाडापाखा उजाड हुदै गएकोमा बिकको मन खाएको छ । तर अहिले सोही डाडाँपाखालाई हराभरा बनाउने अभियान थालिएकोमा उनी खुशी भएका छन् । अभियानमा किशोर किशोरीपनि सहभागी भएर बोटविरुवा रोपेका हुन ।
‘माटोलाई भर, माहुरीलाई घर, चिउरीको ध्यू खान लाग्यो है रहर’भन्ने नाराका साथ चिउरीको बगान बनाउने अभियान सुरु भएको अम्विकेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलाल कवरले जानकारी दिए ।
चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्नेसगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती ध्यूमा समेत प्रयोग गर्ने सकिने बहुउपयोगी अभियानमा डिभिजन वन कार्यालयले स्थानीयलाई सहयोग गर्ने प्रतिवद्धता डिभिजन प्रमुख ज्ञवालीले स्थानीयसँग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले स्थानीयहरुको प्रयासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *