सुर्खेत,असार २८ । जाजरकोटमा पहिरोमा परि मृत्यु भएका नौं जनाको शव फेला परेको छ ।
बारेकोट गाउँपालिका वडा नं. ४ सार्की गाउँका ५२ वर्षीय घरमुली गोपाल सार्की, उनका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली सार्कीको शव फेला परेको छ ।
त्यस्तै कुशे गाउँपालिकाका वडा नं. ९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की, ६ वर्षीय सुभाष सार्की र कल्पाना सार्कीको पनि आइतवार विहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बारेकोट–४ का अझै तीन बेपत्ता रहेको प्रहरीले बताएको छ ।
त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने स्थानीय खोलाले बगाउँदा बेपत्ता रहेका छन् ।
यसैबीच बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलाले बगाएर फालेको अवस्थामा स्थानीयले उद्धार गरी सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको छ । बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
यसैबीच पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटका स्थानीय विस्थापित भएका छन् । पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। त्यहाँ सबै गरि साढे ४ सय बढी घर परिवार विस्थापित भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार