२०८१ माघ १२ गते शनिवार

मण्डपबाट बेहुलासहित ५ पक्राउ

पोखरा, असार २५ ।धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो।

तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको ठाउँमा अकस्मात प्रहरी पुगेको हो। गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर मण्डपमा बसिरहेका थिए। अर्याल गोरखाबाट विवाह गर्नका लागि बुबासहित केही जन्ति लिएर गएका थिए।

मण्डपमा १४ वर्षीया बालिका बेहुली थिइन्। मण्डपमा बेहुलाले बालिकाको सिउँदोमा सिन्दुर समेत हालिसकेका थिए।

यही अवस्थामा प्रहरीले बेहुला अर्याल सहित ५ जनालाई पक्राउ गरेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पूजारी छन्।

जिल्ला अदालतबाट बिहीबार म्याद थपेर अनुसन्धान अघि बढाएको डिएसपी तिमिल्सिनाले बताए। प्रारम्भिक अनुसन्धानमा उनीहरुले सहमतिमै विवाह गर्न लागेको बताएका छन्। बालविवाह जघन्य अपराध भएकाले सोही अनुसार कारबाही अघि बढ्ने प्रहरीले बताएको छ।

अनुसन्धान पश्चात मुलुकी अपराध संहिता २०७४ को विवाह सम्बन्धी कसुरको दफा १७३ अनुसार मुद्दा चलाउने तयारी गरेको डिएसपी तिमिल्सनाले बताए।

मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

 

 

 

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *