यमकला भुसाल,तुलसीपुर,असार २३ । दाङको तुलसीपुरमा गर्भपतन गराउने किशोरीको संख्या अत्याधिक देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन महाशाखाको तथ्याङ्क अनुसार गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढी छ ।
आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनादेखि बैशाख महिनाको अन्तिमसम्ममा तुलसीपुरबाट ६ सय २ जनाले गर्भपतन गराएको जनस्वास्थ्य प्रवद्र्धन महाशाखा प्रमुख ओपी न्यौपानेले जानकारी दिए ।
साउन महिनामा ६२, भदौमा एक सय ३२, असोजमा ९४ , कार्तिकमा १ सय १२, मंसिरमा १ सय २९, पुसमा २०, माघमा २४, फागुनमा २५, चैतमा १ र बैशाख महिनामा ३ जना गरि ६ सय २ जनाले गर्भपतन गराएका छन् ।
यो तथ्याङ्क मध्ये ५ सय २८ जना २० वर्ष मुनिका किशोरी रहेको उनले बताए । सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन् ।
आर्थिक वर्ष २०७६÷०७७ को १० महिनामा ३ सय ६० जना किशोरीले शल्यक्रिया मार्फत गर्भपतन गराएको र औषधी खुवाएर २ सय ४२ जना किशोरीले गर्भपतन गराएको न्यौंपानले बताए ।
यो बीचमा २० वर्ष माथिका ७४ जनाले गर्भपतन गराएका छन् । महाशाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले घरमै औषधी खाएर १ सय ७४ जनाले सेवा लिएको बताए ।
त्यसमध्य एक जनाले (असुरक्षित) अर्थात जटिल अवस्थामा अस्पताल पुगेर सेवा लिएको उनले जानकारी दिए ।
उहाँका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष तुलसीपुरमा गर्भपतन गराउनेको सङ्या घटेको छ ।
तुलसीपुरमा आर्थिक वर्ष २०७२÷०७३ मा १ हजार ९ सय ६ जना, ०७३÷०७४ मा २ हजार ९ सय ३४ जना, ०७४÷०७५ मा १ हजार १ सय ३६ जना, ०७५÷०७६ मा १ हजार ८ सय ४५ जनाले गर्भपतन गराएका थिए ।
पछिल्लो समय निजी अस्पतालमा गर्भपतन गराउने र अधिकांश किशोरीले मनपरी रुपमा औषधी खाएर (आकस्मिक गर्भपतन) गराउनाले गर्भपतन गराउनेको संख्यामा एकिन गर्न कठिन हुने गरेको जनस्वास्थ्य निरिक्षक केसीको तर्क छ ।
हाल तुलसीपुर भित्र मानपुर स्वास्थ्य चौकी,राप्ती प्रादेशिक अस्पताल तुलसीपुर,मेरी स्टोप्स सेन्टर तुलसीपुर बाट सुरक्षित गर्भपतन सेवा प्रवाह भैरहेको छ ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार