घोराही, असार २० । कोरोना भाईरसको महामारीको समयमा अघिल्लो पंक्तिमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धि अभिमूखिकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धि अभिमूखिकरण कार्यक्रम भएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरुलाई शनिवार तनाब व्यवस्थापन सम्बन्धि तालिम दिइएको हो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले महामारीको समयमा सामान्य दिनहरुभन्दा धेरै डिउटीमा खटिनु, डिउटीको समयमा संक्रमणको जोखिम बढ्नु जस्ता कारणले प्रहरीहरु तनाबमा हुने गरेको बताए ।
तनाबलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविमर्शकर्ताहरु लक्ष्मी ढकाल र दीपा धितालले प्रशिक्षण दिएका थिए ।तनाब भएपछि मानसिक रुपमापर्ने असरहरु, त्यसका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत सुरक्षाकर्मीलाई मनोविमर्षको कार्यक्रम गरिएको बताइन । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिनेश रिमालको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमेटेडका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आरके सितलले गरेका थिए ।