तुलसीपुर, असार १९ । क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका एक युवामा कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ ।
असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले असार १७ गते दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार गरिएको पिसिआर परीक्षणका क्रममा सार्कीलाई कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिरकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।
रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार सार्कीले आत्महत्या गरेपछि मात्रै परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनलाई काका नाता पर्ने गाउँकै एक व्यक्तिको खाली घरमा एक्लै होम क्वारेन्टिनमा राखेको अवस्थामा आत्महत्या गरेका थिए ।
दाङका प्रजिअ रिजालले सार्कीको शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको र तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरि तयारी गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
