
फोटो : बसन्त आचार्यको फेसबुकबाट
यमकला भुसाल,
तुलसीपुर,असार १५ । सोमवार १७ औँ राष्ट्रिय धान दिवस तुलसीपुरमा पनि मनाइएको छ ।उपमहानगरपालिकाले पनि १७ औँ धान दिवसको अवसरमा तुलसीपुर–८ अश्वाराको धनोज गनारमा धान दिवस मनाएको हो । त्यहाँ पुगी नगर प्रमुख घनश्याम पाण्डेले खेतमा धान रोपेर कृषकलाई हौसला प्रदान गरेका थिए ।त्यसपूर्व पाण्डेले कृषि उत्पादनको माध्यमबाट आर्थिक रुपमा फट्को मार्न संभव रहेको बताए ।
उनले कृषिलाई मुख्य पेशाका रुपमा अघि बढाउनुपर्ने जोड दिए । उपमहानगरपालिकाले विउ उत्पादन र बाली उत्पादनमा किसानलाई अनुदानको ब्यवस्था मिलाएको उनले बताए । कार्यक्रममा उपप्रमुख माया आचार्यले मानो रोपेर मुरी फलाउने महिनामा सबैले आ–आफ्नो ठाउँवाट श्रमगर्न जरुरी रहेको बताइन ।
अमृतपुर कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ कंवरको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बेदबहादुर केसी,वडा नम्बर १८ का वडाध्यक्ष माधव वली, शिक्षक नारायण भट्राई लगायतले कृषिलाई प्रविधि संग जोड्न आवश्यक रहेको बताएका थिए । उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण धर्म वलीले गरेका हुन ।