तुसीपुर,असार १३ । मृत्यु पछि कोरोना भाइरसको संक्रमन पुष्टि भएकी एक महिलाको शव व्यवस्थापनमा ढिलाई हुँदा गन्हाउन थालेको छ । असार १० गते राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी एक अधबैंसे महिलाको स्वाब परीक्षण गर्दा शुक्रवार रिपोर्ट पोजेटिभ आएको थियो ।उनी सडकमा मागेर हिड्ने महिला हुन । उनको मृत्यु भएको ४ दिन वितिसक्दापनि व्यवस्थापन हुन नसक्दा गन्हाउन थालेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
प्रतिष्ठानमा शव राख्नलाई फ्रिजको सुविधा नहुनु र गर्मीको समयपनि भएको हुँदा शव गन्हाउन थालेको प्रतिष्ठानले जनाएको छ । नेपाली सेना शव व्यवस्थापन गर्नको लागि शुक्रवार बेलुका प्रतिष्ठान पुगेको भएपनि मृतको शरिरलाई सुरक्षित तरिकाले प्लाष्टिकले बेरेर नराखेको हुँदा सेना शव नलगेरै फर्किएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
‘देथ बडीको कस्ले ¥यापिङगर्ने भन्ने समस्याले गर्दा शव उठ्न सकेको छैन,’ एक प्रहरी अधिकारीले भने ‘ आशा गरौं अब छिट्टै समस्या समाधान हुन्छ होला।’यसअघि भारतमा मृत्यु भएपनि दाङमै स्बाव परीक्षण गर्दा पोजेटिभ देखिएका एक व्यक्तिको शव व्यवस्थापनमा खटिएका एकजना नेपाली सेनाका जवानलाई कारोना संक्रमन फेला परेको थियो ।