दाङ,असार ११ । कोरोना भाइरस पोजेटिभ महिलाले जन्माएको बच्चाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणको बुधवार साँझ अवेर प्राप्त नतिजा अनुसार नवजात सिशुको रिपोर्ट नेगेटिभ आएको हो । कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे छोरीलाई जन्म दिएकी थिइन ।
बुधवार बेलुका ती सुत्केरी महिलाको रिपोर्ट पनि नेगेटिभ नै आएको कलेजका कोरोना फोकल पर्सन दिनेश श्रेष्ठले जानकारी दिए । उनले आमा र सिशु दुबैको रिपोर्ट संगै नेगेटिभ आएको तथा दुबैको स्वास्थ्य अवस्था सामान्ने रहेको जानकारी दिए । कलेजका उपनिर्देशक श्रेष्ठले उनीहरुको अवस्था हेरेर अव कलेजले डिस्चार्ज गर्न सक्ने जानकारी पनि दिए ।
रूपन्देहीको भीम अस्पतालले रिफर गरेपछि कोरोना संक्रमित ती महिला शुक्रबार राति १ बजेतिर लेभल थ्री हस्पिटल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रसुती सेवाको लागि आइपुगेकी थिइन । शल्यक्रियामार्फत ती महिलाले शनिवार विहान ६ बजेतिर छोरीलाई जन्म दिएकी थिइन । एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा बसेकी ती महिलाको पिसिआर परीक्षण गर्दा जेठ ३० गते कोरोना संक्रमण देखिएको थियो ।