दाङ, असार १० । रुकुम पश्चिमको चौरजहारी काण्डका २७ प्रतिवादी मध्य वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ । रुकुम पश्चिम जिल्ला अदालतले बुधवार चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ ।
असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधवार सकिएको हो । त्यो बहसमा ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फवाट ३ जना बरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए । यसअघि असार १ गते रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ सोती गाउँकी १७ बर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्लकालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।
जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ जना गरि ६ जनाको ज्यान जाने गरि भएको काण्डमा रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो । जाजरकोटबाट केटी भगाउन भनि गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको शव विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो । त्यसमा कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।